काठमाडौँ। झन्डै सात दशक पहिले सिन्धुलीको रतनचुरा गाविस– ५ का भोजराज शर्माले राणा प्रधानमन्त्री चन्द्रशंशेरलाई ज्यूनार गर्न (खान) दिएको फल जुनारले सिन्धुलीलाई चिनाएको भए पनि त्यहाँ स्थापना गरिएको जुनार जुस कारखाना अलपत्रमा परेको छ ।
नयाँदिल्लीबाट काठमाडौँ फर्कने क्रममा विसं २००० मा चन्द्रशंशेर सिन्धुलीको खनियाखर्कमा बास बसेका थिए । चन्द्रशंशेरका सुसारे भोजराज बरालले दिल्लीबाटै जुनार ल्याएर उनलाई खान दिएका थिए । फलको नाम थाहा नभएपछि ज्यूनारबाट अन्ततः उक्त फलको नाम जुनारमा परिणत भएको बरालले बताए ।
दुईवटा जुनारभित्रका सात दाना जमिनमा दलराखी तीन बिरुवाबाट सिन्धुलीमा जुनार खेती सुरु भएको इतिहास छ । जुनारखेतीका लागि उर्वर माटो भए पनि सिन्धुलीमा २०३२ सालबाट जुनार खेती गर्न थालेको पाइन्छ । तर राजमार्ग नबन्दासम्म सिन्धुलीवासीले न्यून मूल्यमा जुनार बिक्री गर्नुपरेको थियो ।
खनियाखर्कका जुनार व्यापारी चूडाराज शर्माका अनुसार हाल त्यहाँ ३३ वटा पसलबाट राजधानीलगायत आसपासका जिल्लामा जुनार बिक्री वितरण हुँदै आएको छ । बनेपादेखि बर्दिबाससम्मको कुल १५८ किमी मार्ग निर्माणपश्चात् जुनारको व्यावसायिक खेती सुरु भएको हो ।
विसं २०१६ मा विपी कोइरालाले उक्त राजमार्ग शिलान्यास गरेको भएपनि राजनीतिक गतिरोधका कारण सडक निर्माणले गति लिन सकेको थिएन । विसं २०४६ मा प्रजातन्त्र आएपछि गिरिजाप्रसाद कोइरालाले सन् १९९६ मा धुलिखेलमा राजमार्गको शिलान्यास गरी काम अगाडि बढेको थियो ।
सरकारले सिन्धुलीलाई जुनारको पकेट क्षेत्रका रुपमा विकास गर्दै लगेको छ । किसानले उचित मूल्य पाउनुपर्ने माग बढ्दै गएपछि यहाँ करिब ८ करोडको लागतमा निर्माण भएको जुनार जुस कारखाना अहिलेसम्म पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
सरकारको ३ करोड ६५ लाख ४४ हजार तथा बाँकी सहकारी तथा निजी क्षेत्रका उद्योगी व्यवसायीको लगानीमा सो कारखाना निर्माण भएको जुनार उत्पादक सहकारी सङ्घका अध्यक्ष निर्मलकुमार रम्तेलले जानकारी दिए। सो कारखाना पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच वर्ष कुर्नुपर्ने उनको भनाइ छ । प्रतिघन्टा ५०० लिटर जुस उत्पादन गर्ने क्षमता रहेको सो कारखाना सञ्चालनका लागि पर्याप्त जुनार उत्पादन नभएको रम्तेल बताउछन् ।
सिन्धुलीका तीनकन्या, रतनचुरा, भूवनेश्वरी, बाशेश्वर, वितिजोर, जलकन्या, मजुवालगायत करिब ४५ गाविसमा तीन हजार ६१६ रोपनी जग्गामा जुनार खेती गरिन्छ । २१ करोडको जुनार यहाँ उत्पादन हुन्छ । हाल जिल्लाका चार हजार एक सय किसान ३४ साना सहकारी र ५६ वटा कृषक समूहमा आबद्ध भई जुनार उत्पादनमा संलग्न छन् ।
सरकारले आव २०६३/६४ को बजेट वक्तव्यमार्फत घोषण गरेको एक गाउँ एक उत्पादन (ओभिओपी) कार्यक्रमले सिन्धुलीलाई थप उत्साह प्रदान गरेको छ । उक्त कार्यक्रमको अनुशरण जापानबाट गरिएको हो । कार्यक्रम कार्यान्वयन सार्वजनिक, निजी र साझेदारी अवधारणाअनुरुप उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को सहकार्यमा कृषि उद्यम केन्द्र (केइसी) मार्फत देशको झन्डै ४६ जिल्लामा लागू भएको छ ।
कामको खोजीमा सिन्धुलीका युवा विदेश पलायन हुनु र सुखको खोजीमा गाउँका मानिस सहरमा बस्नुले गाउँका जमिन बाँझिनेक्रम बढ्दै गएका कारण कारखानालाई आवश्यक पर्ने जुनार उत्पादनमा ढिलाइ भएको एक गाउँ एक उत्पादन (ओभिओपी)का कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताए । सरकारी आँकडाअनुसार मुलुकभर हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।
आव २०७३/७४ को बजेट वक्तव्यमार्फत सरकारले जमिन बाँझो राख्नेलाई औसत उत्पादनको २५ प्रतिशतसम्म जरिवाना लगाउने व्यवस्था लागू गर्ने हो भने सिन्धुलीमा जमिन बाँझो नहुने र कारखानालाई आवश्यक पर्ने जुनार उत्पादन हुने अनुमान गरिएको छ । रासस