arrow

क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र समस्यामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
snake-bite-hoapital-janakpur.jpg

धनुषा । गत असार १५ गते साँझ ७ बजेतिर बटेश्वर गाउँपालिका-४ प्रेमपुरका ५७ वर्षीया दाईजीदेवी दासलाई सर्पले टोक्यो । उपचारको लागि सबैभन्दा नजिकमा क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र थियो । 

त्यसैले उनलाई हतारहतार त्यत्तै लगियो तर त्यहाँ विद्युतको लाइन गएको र वैकल्पिक उपाय नभएकाले उपचार सम्भव नभएको जनाउँदै चिकित्सकले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रेफर गरे । दासले अस्पताल नपुर्याउँदै क्षिरेश्वरनाथ नगरपालिका-४ हरैया नजिक प्राण त्यागे । 

दासका परिवारलाई अर्को अस्पतालमा लगेको भए ज्यान जोगिन्थ्यो कि भनेर अहिले पछुतो लागि रहेको छ । 

“नजिकै त्यही अस्पताल थियो, त्यसैमा सर्पदंश उपचार केन्द्र भनेपछि अरू ठाउँभन्दा त्यही लग्दा ज्यान बचाउन सजिलो होला भनेको तर त्यही हाम्रो भूल भएछ”, मृतकका भाई वीरेन्द्रकुमार दास भन्छन्, “सायद यस्तै हुनु रहेछ, त्यही बेला बत्ती जानु र हामीलाई दुःख पर्नु एकैपटक भयो । विद्युतको अर्को विकल्प भएको भए यस्तो हुँदैन थियो कि !”

हाल तराई मधेसमा अत्यधिक, वर्षा तथा डुबानसँगै सर्पदंशको समस्या छ । त्यसैले हाल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आउनेको संख्या बढ्दो छ तर यहाँ उपचारका लागि अत्यावश्यक मानिएको एन्टिस्नेक भेनम र महत्वपूर्ण औषधिको अभाव छ । 

उपचार केन्द्रका सञ्चालक समितिका अध्यक्ष राजकिशोर राउतले बजेटको अभावले औषधिका साथै दैनिक कार्य सञ्चालनका लागि आवश्यक पर्ने बिजुली बत्तीको महसुल, कर्मचारीको तलब र प्राविधिकको खाजा खर्च व्यवस्थापन नहुँदा समस्या भएको बताए । 

बजेट अभावमा यहाँबाट प्रवाह हुने निःशुल्क उपचार सेवा बन्द हुने अवस्थामा पुगेको र सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको उनको गुनासो छ । 

विसं २०७७ मङ्सिर २६ गतेदेखि सञ्चालनमा आएको २२ शय्याको यस  अस्पतालबाट हालसम्म नौ सय ४१ जनाले निःशुल्क उपचार गराइसकेको छन् । उपचार केन्द्रका प्रशासन प्रमुख वसन्त यादवले साउन महिनामा मात्रै ३६ जनाको उपचार गरिएको बताए ।  

क्षिरेश्वरनाथ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा रु दुई करोड बढीको लागतमा अस्पताल निर्माण भए पनि हाल सहयोग प्राप्त अस्पताल सञ्चालनमा कठिनाइ भएको सञ्चालक समिति अध्यक्ष राउतको भनाइ छ । 

अस्पतालमा स्रोत व्यवस्थापनका लागि सञ्चालक समिति, स्थानीय राजनीतिक दल र नेपाली सेनाबीच नौ बुँदै सहमति भए पनि सोअनुसार कार्य अगाडि नबढ्दा समस्या भएको उनले बताए । 

सहमतिमा नेपाली सेनाका प्राविधिकको प्रतिवेदनअनुसार स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोेत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ । 

अस्पतालमा नेपाली सेनाले निःशुल्क रूपमा प्राविधिक सहयोग गर्दै आएका छन् तर सेनाका प्राविधिकलाई दिइनुपर्ने खाजा र सरसफाइवापतको खर्च पनि उपलब्ध गराउन नसकिएको केन्द्रले जनाइएको छ । 

आर्थिक अभाव भएकाले आवश्यक सहयोग गरिदिन भनि क्षिरेश्वरनाथ नगरपालिका कार्यपालिका बैठकमा प्रस्ताव आए पनि थप कार्य अगाडि नबढेको कार्यपालिका सदस्य दीपक साहले बताए । 

उनले भने, “एकपटक त बजेट दिने निर्णय नै भएको थियो तर थप सहयोगका लागि उहाँहरूबाट प्रस्ताव आए पनि आर्थिकको अन्तिमतिर भएकाले बजेट दिन सकिएन ।”

सञ्चालक समिति अध्यक्ष राउत बजेट व्यवस्थापन नहुँदा विगत एक वर्षभन्दा बढी समयदेखि बिजुलीवापतको रकम तिर्न नसकिएको बताउछन् । 

“यहाँ निम्न वर्गका बिरामी उपचारका लागि आउँछन् तर औषधि, एन्टिस्नेक भेनम, जेनेरेटर तथा उपचारका लागि आवश्यक अन्य सामग्रीको अभावमा उपचार गर्न कठिनाइ छ”, उनले भने, “पटकपटक स्थानीय तहका प्रमुख, प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीलगायतलाई सहयोगका लागि गुहारिसकेका छौँ तर सुनुवाइ भएको छैन् । खरिद भएको मेसिन पनि मर्मत गर्न नसक्दा थप बिग्रिन थालेका छन् ।”

गत आर्थिक वर्षमा लक्ष्मीनियाँ गाउँपालिका र बटेश्वर गाउँपालिकाबाट रु दुई÷दुई लाख र स्वास्थ्य आपूर्ति केन्द्र, जनकपुरधामबाट केही औषधि सहयोग पाएपछि सेवा सञ्चालनमा रहे पनि चालु आर्थिक वर्षमा स्रोत नजुटेपछि थप समस्या भएको छ । 

यस अस्पतालबाट धनुषाका मिथिला, धनुषाधाम नगरपालिका, लक्ष्मीनिया र बटेश्वर गाउँपालिका तथा महोत्तरीको भङ्गहा नगरपालिकालगायत क्षेत्रका बिरामीले सेवा लिने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ