arrow

एमालेको मिसन चौरासी [अपानीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनलाई केन्द्रित गरेर कार्ययोजना बनाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । मिसन ०८४ लाई केन्द्रित गरेर कार्ययोजना बनाउन अन्तर पार्टी निर्देशिका जारी गरेको हो । 

पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुपमा सुदृढ गर्ने उद्देश्यका साथ संगठन सुदृढीकरण र सुद्धिकरणको कार्ययोजना अघि सारेको छ ।

सोही परिषदको बैठकले मिसन ग्रास रुटका निष्कर्ष र सुझावमा आधारित वार्षिक कार्ययोजनाको समीक्षा गरी आगामी वर्षका लागि नयाँ कार्ययोजनाको आधार तयार गरेको जनाउँदै  पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने तयारीको काम अघि बढेका बेलामा राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण परिवर्तन सम्भव भएको पनि जनाएको छ ।

पार्टी अध्यक्षको नेतृत्वको सरकारले जनतामा नयाँ आशा जागृत गर्ने गरी कामलाई अघि बढाइरहेको अवस्थामा अब सिंगो पार्टी पंक्ति राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको निष्कर्षका आधारमा मिसन ८४ लाई पूर्णरुपमा सफल बनाउने काममा केन्द्रित हुनुपर्दछ भन्ने एमालेको ठम्याइ छ ।

‘यतिबेला संयुक्त सरकारको कामलाई प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरण र विस्तारको कामलाई योजनाअनुरुप अघि बढाउने, अधिवेशन सम्पन्न गर्न बाँकी स्थानीय पार्टी कमिटीका अधिवेशनहरु तोकिएको समयमा सम्पन्न गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकका निष्कर्ष समेतको आधारमा पार्टी कामलाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्ने हुन्छ’, अपानीले कांग्रेससँगको सहकार्यलाई पनि समेटेको छ ।

असार १८ मा केन्द्रीय सचिवालय ३२ औँ बैठक, असार २८ मा ३३ आंैँ बैठक र साउन १७ मा ३४ औँ बैठक सम्पन्न भएको जनाउँदै केन्द्रीय कमिटी, केन्द्रीय निकायमा पदाधिकारी तथा सदस्यहरुको मनोनयन र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको नयाँ कार्यविभाजनसहित ती बैठकले गरेका महत्वपूर्ण निर्णयहरु जानकारी तथा कार्यान्वयनका लागि अपानी– १० जारी गरिएको जनाएको छ ।

एमालेले भौगोलिक क्षेत्रको कार्यविभाजन गर्दा मिसन ८४ लाई केन्द्रविन्दुमा राख्ने, कार्यविभाजनको तल्लो इकाइ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रलाई बनाउने, केन्द्रीय तहबाट प्रदेश, जिल्ला, प्रतिनिधि सभा र आवश्यकताअनुसार प्रदेश सभा निर्वाचन क्षेत्रका लागि इञ्चार्जको व्यवस्था गर्ने र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रमा सम्भव भएसम्म सम्बन्धित भूगोलकै कमरेडलाई जिम्मेवारी तोक्ने रहेको छ । 

त्यस्तै पार्टी स्कूल, संगठन विभाग, संसदीय विभाग र स्थानीय विकास विभाग बाहेकका अन्य विभागमा एक जनामात्र केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी तोक्ने, पार्टीसम्बद्ध जनसंगठनको प्रमुख जिम्मेवारीमा रहेकालाई सामान्यतया सोही क्षेत्रमा जिम्मेवारी तोक्ने, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटीमा न्युनतम संख्यामा जिम्मेवारी तोक्ने, केन्द्रीय मन्त्री र मुख्यमन्त्रीहरुलाई सोही जिम्मेवारीमा केन्द्रित गर्ने, अन्य जिम्मेवारी नतोक्ने, सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुको बीचमा संयन्त्रद्वारा काममा समन्वय गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

प्रदेश अध्यक्षको घटुवा
नेकपा (एमाले) ले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । यसअघि आफैँले गरेको निर्णय उल्टाउँदै एमालेले प्रदेश कमिटी अध्यक्षहरूको हैसियत घटुवा गरेको हो । 

केन्द्रीय कमिटीको पदेन सदस्यको हैसियतबाट पोलिटब्यूरोको हैसियत दिइएको थियो । तर मंगलबार सार्वजनिक भएको एमालेको अन्तरपार्टी निर्देशनमा प्रदेश कमिटीका अध्यक्षको हैसियत पुनः केन्द्रीय कमिटीको पदेन सदस्यमा झारिएको छ ।

पाँच जिल्ला कमिटी विघठन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वटा जिल्ला कमिटी विघटन गर्नुभएको छ । अन्तर पार्टी निर्देशन १० मार्फत पार्टी अध्यक्ष ओलीले कोशी प्रदेशका तीन वटा जिल्ला र सुदुरपश्चिम प्रदेशका दुइ वटा जिल्लामा मौजुदा जिल्ला कमिटी विघटन गरी संगठन कमिटीको घोषणा गर्नुभएको छ ।

ओलीको घोषणा अनुसार मोरङ जिल्ला संगठन कमिटीमा अध्यक्ष, बाबुराम कार्की, उपाध्यक्ष, शान्ति लिम्बु भुजेल, सचिव रविन थापा, उपसचिव सन्तोष साह र सोमराज थापा रहेको २७३ सदस्यीय जिल्ला संगठन कमिटी घोषणा भएको छ । 

हेमराज सुवेदीको संयोजकत्वको विगतको ५ सदस्यीय लेखा कमिटीलाई कायमै राखिएको छ । 

यस्तै तेह्रथुम जिल्लामा अध्यक्ष तेजमान कन्दब्वा, उपाध्यक्ष संजय तुम्बाहाङ्फे, सचिव शिव ढुंगाना, उपसचिव गणेश सोदेम्बासमेत रहेको १०७ सदस्यीय तेह्रथुम जिल्ला संगठन कमिटी घोषणा गरिएको छ ।

यस्तै ईलाममा अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुब, उपसचिव रवीन्द्र सुवेदी र विष्णुमाया आर्यालसमेत रहेको १२७ सदस्यीय ईलाम जिल्ला संगठन कमिटी घोषणा गरिएको छ । 

अध्यक्ष ओलीले बझाङमा अध्यक्ष कलकबहादुर खड्का, उपाध्यक्ष मोहन जोशी, सचिव आनन्दलाल विक, उपसचिव सुरतबहादुर सिंह तथा सदस्यहरुः उमेश बोहरा, कलक रोकाया, धर्मराज खड्का, राकेश सिंह, लोकेन्द्र बोहोरा, प्रयागराज जोशी कापडी, लोकेन्द्र सिंह एल.बी., रामप्रसाद जप्रेल, भुवनेश्वर उपाध्याय, प्रेम मल्ल, हर्कबहादुर बोहरा, विष्णुप्रसाद जोशी, दिनेश नेपाली र राधा विष्टसमेत रहेको संगठन कमिटी घोषणा गरेका छन । 

यस्तै डोटी जिल्लामा अध्यक्ष मञ्जु मलासी, उपाध्यक्ष शेरबहादुर मल्ल, सचिव लक्ष्मण मलासी, उपसचिव कृष्णकुमार खड्का र तेजबहादुर डुम्रेलसमेत रहेको संगठन कमिटी घोषणा गरिएको छ । 

एमालेले विशेष परिस्थितिलाई ध्यानमा राखी अछाम जिल्ला कमिटीलाई यथावतरुपमा कायम राख्ने र अधिवेशन पनि नगर्ने निर्णय गरेको छ । यी जिल्लाहरूमा एमालेको केन्द्रको निर्देशन अनुसार समयमै जिल्ला अधिवेशन हुन सकेको थिएन । 

अधिवेशन हुन नसकेपछि अध्यक्षले मौजुदा कमिटी विघटन गरी नयाँ कमिटी घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ