arrow

संविधान संशोधन गर्न दुई वर्ष कुर्नुपर्ने हुन्छ - शेखर कोइराला [भिडियो]

मन्त्रिपरिषद्बाट निस्किदाँखेरी निष्कलङ्क निस्कनु ठूलो कुरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
shekhar-koirala-04-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताए । 

उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाइ बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पुर्‍याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए । नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरूलाई पनि साथमा लिएर जानुपर्ने बताए । उनले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्‍याउनुपर्नेमा जोड दिए । उनले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउने गरी संविधान संशोधन गरिने बताए । 

उनले भने – ‘राजनीतिज्ञहरूले राजनीति गर्ने हो । पैसा कमाउनलाई त्यहाँ(सरकारमा) जाने होइन भन्ने कुरा एकदम बुझिने भाषामा हामीले भन्न सक्नुपर्छ । मैले हाम्रा साथीहरू जो मन्त्री हुनुभएको छ, उहाँहरूलाई मैले के भनेको छु भने तिमीहरू कस्तो गर्छौ ? भोलि काम कति सक्छौँ ? सक्दैनौ ? त्यो आफ्नो ठाउँमा छ । तर मन्त्रिपरिषद्बाट निस्किदाँखेरी निष्कलङ्क निस्क । त्यति सबैभन्दा ठूलो कुरा हो । तिमीहरू निष्कलङ्क निस्कियौँ भने नेपाली कांग्रेसको इज्जत रहन्छ । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने छ । तर हामीले यो पनि बुझ्नुपर्ने हुन्छ । अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ पनि हो । ०६२-०६३ को आन्दोलनले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँ पनि भएको छ भन्ने कुरा पनि हामीले दिमागमा राखौँ । त्यसकारण निर्वाचन प्रणालीमा सबै जातजातिहरूलाई समेट्नेगरी तर बहुमत आउने गरी कसरी गर्न सकिन्छ त्यतातिर सोच्नुपर्‍यो । कसरी गर्दा उनीहरूको प्रतिनिधित्व पनि संसद्मा सुनिश्चित हुन्छ । र बहुमतको सरकार पनि बन्न सक्छ । त्यतातिर पनि ध्यान पुर्‍याउँ । समावेशी चरित्रको संविधानलाई अगाध नपुग्ने गरी बनाऔँ भन्नेछ । संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरा पनि दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाइ बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नुपर्ने हुन्छ । संशोधन गर्दा खेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरूलाई पनि हामीहरूले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्ने कुरा नेपाली जनताको हो । कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरूले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ