arrow

न्याय क्षेत्रका समस्या साझा चुनौती बन्नुपर्छ- प्रधानन्यायाधीश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
biswambarprasad-new.jpg

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् । कानून व्यवसायी परिषद्को ३१ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरणको निर्माण गर्दै सेवाग्राहीहरूको अपेक्षाअनुरूपको कार्य सम्पादन र सेवा प्रवाहमार्फत आम नागरिकको भरोसाको केन्द्रको रूपमा स्थापित गर्न न्यायपालिका लागि परेको बताए । 

उनले न्याय क्षेत्रको सुधार र स्तरोन्नतिका लागि तथा नागरिकका न्यायपालिकाप्रतिका अपेक्षाहरूको सम्बोधन अदालतको एक्लो प्रयासले मात्र सम्भव नरहेको बताए । उनले न्याय क्षेत्रमा आबद्ध सबै निकायहरूको संस्थागत क्षमता, व्यावसायिकता, उच्चस्तरको लगन, मेहनत, जिम्मेवारीप्रतिको स्वामित्ववोध, जबाफदेहिता र प्रतिबद्धताबाट मात्रै सकारात्मक परिणाम दिन सकिने बताए । 

उनले नागरिकको अपेक्षाको स्तरअनुसार काम हुन नसके जनताको नजरमा भरोसायुक्त नहुने जिकिर गरे । उनले न्याय क्षेत्रका समस्या र चुनौतिहरु सबैका साझा समस्या र चुनौती बन्नुपर्ने बताए । उनले सुदृढ न्यायपालिका र सक्षम एवं समृद्ध न्याय प्रणालीको लागि सबैले योगदान गर्नुपर्ने बताए । 

उनले भने, ‘न्याय क्षेत्रको सुधार र स्तरोन्नतिका लागि तथा नागरिकका न्यायपालिकाप्रतिका अपेक्षाहरूको सम्बोधन अदालतको एक्लो प्रयासले मात्र सम्भव छैन । यस क्षेत्रमा आबद्ध सबै निकायहरूको संस्थागत क्षमता, व्यावसायिकता, उच्चस्तरको लगन, मेहनत, जिम्मेवारीप्रतिको स्वामित्ववोध, जबाफदेहिता र प्रतिबद्धताबाट मात्रै सकारात्मक परिणाम दिन सकिन्छ । नागरिकको अपेक्षाको स्तर हामीले आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्न सकेनौँ भने जनताको नजरमा हामी विश्वस्त देखिन सक्दैनौँ । विश्वस्त हुने वातावरणको निर्माण गर्नुपर्छ । न्याय क्षेत्रका समस्या र चुनौतीहरू हामी सबैका साझा समस्या र चुनौती बन्नुपर्छ । साथै तिनको सम्बोधन गर्न हामी सबैको साझा प्रयास र प्रतिबद्धता रहनुपर्दछ । आजको विशेष दिनमा म सुदृढ न्यायपालिका र सक्षम एवं समृद्ध न्याय प्रणालीको लागि हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्न सकौँ । न्यायपालिकाप्रति विश्वस्त हुने वातावरणको निर्माण गर्दै सेवाग्राहीहरूको अपेक्षाअनुरूपको कार्य सम्पादन र सेवा प्रवाहमार्फत आम नागरिकको भरोसाको केन्द्रको रूपमा स्थापित गर्न न्यायपालिका लागि परेको छ ।’

न्यायपालिकाको सुधारको मार्गचित्रसहित तर्जुमा भएको योजना समग्र न्याय क्षेत्रको साझा दस्ताबेज बन्नुपर्ने बताए । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितताको लागि सुदृढ कानून व्यवसायी त्यत्तिकै अपरिहार्य रहेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ