arrow

मुलुकी संहिता दिवस

नैतिक बन्धन कमजोर हुँदा अपराध बढ्यो- प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
oli-05-01.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर भएका कारण अपराधहरू बढिरहेको बताएका छन् । शनिबार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धनहरू कमजोर भएको बताए । 

उनले यस प्रकारको अदृश्य बन्धनहरू कमजोर हुँदा अपराधहरू बढेको र अदालतमा धेरै मुद्दाहरू परेका बताए । उनले समाजलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धनहरूको प्रवर्द्धन गर्नुपर्ने बताए । मानिसहरू स्वयं नैतिक बन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरे पनि अपराध न्यूनीकरण नहुने उनको भनाई छ । उनले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताए । 

उनले भने–‘दण्ड, सजायले मात्रै समाज चल्दैन । समाज सामाजिक प्रबन्धहरूले चल्छ । प्रहरी, अदालत, अपराध भइसकेपछि अनुसन्धान गर्नेले अथवा अपराध भइसकेपछि अभियोजन गर्नेले, अभियोजन भइसकेपछि बहस गराएर सुनेर फैसला गर्ने निकायहरूले रक्षा नै गर्न सक्दैनन् । शान्ति, सुव्यवस्थाको पनि रक्षा गर्न सक्दैनन् । यदि नागरिक सचेत भएनन् भने । नागरिकले आफ्नो दायित्व बुझेन भने । प्रजातन्त्र भनेको त नागरिक समाजकै सरकार हो, शासन हो । व्यवस्था हो । त्यो कुरा नबुझेर यो सरकार मेरो हो । यो शासन मेरो हो । यो प्रणाली मेरो हो भन्ने बुझेन भने प्रहरीले केही काम गर्न सक्दैन । अदृश्य बन्धन जुन हुन्छ समाजलाई पथप्रदर्शन गर्ने, सुव्यवस्थासाथ चलाउने । ती अदृश्य बन्धनहरू कमजोर भएका छन् । नैतिक बन्धनहरू कमजोर भएका छन् । वाचा बन्धनहरू कमजोर भएका छन् । सामाजिक बन्धनहरू कमजोर भएका छन् । त्यसकारण अहिले मुद्दा नै मुद्दा भएका छन् । किनभने यी अदृश्य बन्धनहरू कमजोर भए । पहिले पहिले भगवानले देखिराखेको छ भन्ने मान्छेलाई पर्थ्यो । अहिले भगवानले देखिराखेको भन्ने मान्दैन उसले । कसैले पनि देखेको छैन भनेपछि जे गरे पनि हुन्छ भन्ठान्छ । हरेक ठाउँमा प्रहरी पुगेर कसरी हेर्छ त ? त्यो त हेर्दैन । इमानबाट चल्ने अदृश्य बन्धनहरू समाजका हुन्छन् । तिनीहरूबाट चल्ने परिपाटी हामीले नैतिक बन्धन, सामाजिक, सांस्कृतिक बन्धन, वाचा बन्धन, लिखतका बन्धन यस्ता वन्धनहरुलाई प्रमोट गर्नुपर्ने आवश्यकता देख्छु । यो शिक्षा, मनोवैज्ञानिक उपचार लगाएका प्रश्नहरूमार्फत गरिने कुरा हो । यसो नगर्दा खेरी हामी जति कानुनमा संशोधन गरौँ । जेसुकै गरौँ, फेरि समस्या जति जेल बनाए पनि नपुग्ने अवस्था जस्तो बन्न सक्छ । यता पट्टी जनचेतनाको अभिवृद्धितर्फ, आपराधिक मनोवृत्ति घटाउने र निर्मुलनतर्फ ध्यान जानुपर्ने देख्छु ।’
 



नयाँ