arrow

सरकार विपक्षी दलको नेतालाई छानीछानी जेल हाल्दैछ- माओवादी केन्द्र [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
agni-sap-07-08.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरू केन्द्रित कारबाही गरिरहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पनि पक्ष-विपक्ष नभनी कारबाही गरिएको भए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरूलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताए । 

उनले विपक्षी नेताहरूलाई छानी छानी मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताए । उनले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रूपमा संरक्षण गरेको आरोप लगाए । 

उनले भने, ‘यो सरकार र हाम्रो नेतृत्वमा बनेको सरकारको बीचमा के फरक छ भन्दा हाम्रो पार्टीले कानून र प्रमाणले भेटेसम्म जसलाई पनि कारबाही गरे हुन्छ भनेर दोषी कोही पनि नछुटुन् र निर्दोष कोही पनि नपरुन् भन्ने मान्यताका आधारमा कारबाही गरिएको थियो । अहिले तपाईँहरूले देख्नुभएको छ, अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई, विपक्षी दलका व्यक्तिहरूलाई छानी छानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्ना नेताहरूलाई जोगाइरहेको छ । तपाईंहरुलाई थाहा छ, म ती नामहरू पनि भन्न तयार छु, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुला रूपमा संरक्षण गरिएको छ । सुशासन र भ्रष्टाचारमा पहिलाको सरकारले जुन काम थालेका थिए ती कामहरू सबै उल्ट्याउने काम गरेको छ । हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह गर्ने कुरामा ध्यान दिएका थियौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ