arrow

एकताबद्ध रूपमा पार्टी काममा जुट्न अध्यक्ष ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
kp-sharma-oli-81-5-19e.jpg
फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अगाडि सारेको मिसन-२०८४ सफल बनाउनुपर्ने अभिभारा रहेको भन्दै सोहीबमोजिम एकताबद्ध रूपमा पार्टी काममा जुट्न आग्रह गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज सम्पन्न भएको पोलिटब्युरो बैठकको समापन गर्दै उनले पार्टीलाई स्वतन्त्रतापूर्वक निर्णय गर्नसक्नेगरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेको भन्दै पार्टी राजनीतिक वैचारिक र सैद्धान्तिक रुपमा स्पष्ट रहेको बताए । अध्यक्ष ओलीले पार्टी शुद्धीकरण र सुदृढीकरणमा जोड दिए ।

बैठकमा महासचिव शङ्कर पोखरेलले यस वर्षका लागि तयार गरिएको वार्षिक कार्ययोजनामाथि पोलिटब्युरो सदस्यबाट प्राप्त सुझाव समेटेर सचिवालय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

समसामयिक प्रस्ताव पारित

बैठकले समसामयिक महत्त्वपूर्ण १३ प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार बैठकले एमालेका अध्यक्ष ओलीको नेतृत्वमा नेपाली कांग्रेससहितको नयाँ सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरणजस्ता उपलब्धिले जनतामा आशाको सञ्चार भएको जनाएको छ ।

प्रस्तावमा भनिएको छ-सामाजिक सद्भाव, रचनात्मक बहस र स्वस्थ प्रतिस्पर्धाजस्ता नेपाली समाजका विशेषताको सम्वर्द्धन गर्न तथा लोकतान्त्रिक संस्कारको विकास गर्न लागिपर्ने सङ्कल्प गर्दछ र सम्बद्ध सबैलाई यसमा योगदान गर्न आह्वान गर्दछ ।

यस्तै मुलुकका सबै राजनीतिक दलहरुलाई जिम्मेवार र संयमित बन्न एवं देश तथा जनताप्रति उत्तरदायी भूमिकाका साथ अगाडि बढ्न आह्वान गर्दै प्रस्तावमा भनिएको छ-सरकारलाई दूध उत्पादक किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन, उखु किसानका समस्या सम्बोधन गर्न, सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न, सहकारीको रकम अपचलनमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन, जाजरकोट र रुकुमपश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन, चाडबाडको मुखमा कालोबजारी, कृत्रिम अभाव र मिसावटका माध्यमबाट उपभोक्ताहरु ठगिने स्थिति अन्त्य गर्न, कर्णाली राजमार्गलगायत बिग्रेभत्केका सडकको यथाशीघ्र मर्मतसम्भारगरी नागरिकको आवागमन सहज र वस्तु तथा सेवाको निर्वाध आपूर्ति गर्न तथा डेङ्गु प्रकोपलाई नियन्त्रण गर्न ध्यानाकर्षण गर्दछ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकले बङ्गलादेशमा विकसित घटनाप्रति पार्टीको गहिरो ध्यानाकर्षण भएको भएको जनाउँदै बङ्गलादेश चाँडै सामान्य लोकतान्त्रिक प्रक्रियामा फर्कने, त्यहाँका जनताले आफ्नो भविष्यको फैसला आफँै गर्न सफल हुने र त्यहाँ राजनीतिक स्थायित्व, शान्ति र सामाजिक सद्भाव स्थापित हुने विश्वास गरेको छ ।

बैठकले रुस-युक्रेनबीच शीघ्र युद्धबिराम गर्न, यसलाई छद्म युद्धको थलो नबनाउन, विभिन्न कारणबस रुसी सेनामा भर्ती हुन पुगेका नेपाली युवालाई स्वदेश फर्काउन र युक्रेनमा बन्दी बनाइएका नेपाली युवालाई रिहा गर्न मागसमेत माग गरेको प्रमुख गौतमले बताए ।

‘विपद्जन्य घटना बढ्दै जानु, जलवायु सङ्कटले हिमाली क्षेत्रमा नसोचेका जोखिम थपिँदै जानु र ठूलो लगानी गरेर निर्माण गरिएका पूर्वाधार एवं नागरिकको जिउधनको क्षति बढ्दै जानु गम्भीर चिन्ताको विषय हो’, पारित गरिएको प्रस्तावमा भनिएको छ, ‘जलवायु सङ्कटसँग जुध्न अन्तर्राष्ट्रिय सहकार्य बढाउन, विपत्तिको पूर्वसूचना एवं विपद् पूर्वतयारीका काममा अझ बढी ध्यान दिन एवं विपत्तिका कारण घरबारविहीन बन्न पुगेका नागरिकको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।’

बैठकले सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशले काठमाडौँ उपत्यकाभित्रका नदी, सहायक नदी र खोलालगायत तटीय क्षेत्रमा नक्सा पासगरी वैध संरचना बनाएर बसोबास गरिरहेका र व्यवसाय सञ्चालन गरिरहेका हजारौँ परिवार प्रभावित हुने, कतिपय धार्मिक-सांस्कृतिक-सामाजिक संरचना हटाउनुपर्ने जटिल स्थिति देखापरेको भन्दै सर्वोच्च अदालतको उक्त परमादेशका  दूरगामी र जटिल असरलाई ध्यानमा राख्दै यसको पुनरावलोकनका लागि आवश्यक कानुनी प्रबन्धका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको हिंसामा परी ४० हजारभन्दा बढी नागरिकको ज्यान गएको, हमाशको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीलगायत बन्धकको अझै पनि सुरक्षित रिहाइ हुन नसकेको र त्यसले भयाबह मानवीय सङ्कट निम्त्याउँदै क्षेत्रीय द्वन्द्वकोसमेत आशङ्का बढ्दै गएकोप्रति बैठक गहिरो चिन्ता व्यक्त गरेको छ ।

गौतमका अनुसार तत्काल युद्धविराम गर्न, मानवीय सहायता उपलब्ध गराउन र ‘दुई राज्य समाधान’ को विकल्पमार्फत यस द्वन्द्वको दिगो समाधान खोज्न आग्रह गरेको छ । बैठक दुईदिनसम्म पार्टी कार्यालयमा सञ्चालन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ