arrow

संविधान दिवस

काम गरेर देखाउने बाहेकको एजेण्डा छैन- प्रधानमन्त्री [भिडियो]

देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
kp-oli-06-03.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेन्डा नरहेको स्पष्ट पारे। 

उनले विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको बताए । उनले विकासको लागि स्थायित्व अनिवार्य रहेको बताए । उनले संविधानलाई समयानुकूल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने स्पष्ट पार्नुभयो । उनले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट गर्न सकिने बताए । संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने बताए । 

उनले भने, ‘विकासका लागि स्थायित्व चाहिन्छ । अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासको लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्त्व हुन । संविधानलाई समयानुकूल बनाउनु पर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एण्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्नसक्छौं । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ । मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ । संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ । नहुँदा आम नागरिक कहिले काहीँ निराश पनि हुन्छ । मैले संसद्मा विश्वासको मत लिँदै गर्दा भनेको थिएँ– २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको छ । म देख्छु, खास गरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौँ भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ । म युवा लगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छु, काम गरेर देखाउने, गरेकै कामले आशा भर्ने बाहेक यो सरकारको अर्को एजेन्डा छैन । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारको अरू कुनै मुद्दा छैन । युवाहरूको सन्दर्भमा एक जना नेताको भनाइ मलाई याद आइरहन्छ– गिभ मि जस्ट वान जेनेरशन अफ युथ, एण्ड आइ विल ट्रान्सफर्म द होल वर्ल्ड (मलाई युवाहरूको एउटा पुस्ता दिनुस्, र, म सिङ्गो दुनियाँ बदल्ने छु) । म पनि ठान्छु, हाम्रो युवा–पुस्ताकै बलमा यो मुलुक रूपान्तरण गर्न सकिन्छ । आज म खास गरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईँहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईँहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौँ । सुशासन कायम त हामी गर्छौँ, गर्छौँ । तर याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ