arrow

विपद्‌मा प्रधानमन्त्री ओलीको बोली

पहिरो पूर्वसूचना गरेर जाँदैन, विरोधका लागि विरोध गर्ने परिपार्टी राम्रो भएन [भिडियो]

सरकारले पीडितहरूको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढङ्गले अघि बढाउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
kp-oli-06-14.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट पीडितहरूको उद्धार, राहत र पुनर्निर्माणको कामलाई सरकारले अझै प्रभावकारी ढङ्गले अघि बढाउने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिएर सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि ओलीले सरकारले आफ्नो बुँदाअनुसार उद्धार र राहतको काम गरेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतको काम गर्दागर्दै पनि विरोधका लागि विरोध गर्ने परिपार्टी राम्रो नभएको पनि बताए । उनले विपद् जस्तो संवेदनशील बेलामा सबैले मिलेर यथार्थपरक ढङ्गले चल्नु वाञ्छनीय हुने बताए । आफूले बाहिर बसेर पनि सो विपद्को सामना गर्नका लागि सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिने काम गरेको र सरकारले पनि सोही अनुसार काम गरेको प्रधानमन्त्री ओलीको दाबी थियो । बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा सरकारले तत्काल मिटिङ बसेर उद्धार र राहतका लागि सेना, प्रहरी परिचालन गरेको पनि स्मरण समेत उनले गराए। 

प्रधानमन्त्री ओलीले भने, ‘विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास तत्काल मिटिङहरू बसेर तत्काल सेना, प्रहरी खटेर उद्धार कार्यहरू गरेको छ । अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्‍याउने कुरा हो । र पहिरो जाने कुरा पनि पूर्व सूचना गरेर जाँदैन । पहिरो गएपछि क्षति पुर्‍याउने नै भयो । त्यसमा सरकारले तदारुपताका साथ उद्धार कार्य र राहत कार्य पुर्‍याउने हो । त्यो काम पुर्‍याएको छ भन्ने मलाई लाग्छ । मैले बाहिरै हुँदा खेरी पनि यस विषयमा जानकारी लिइराखेको छु । र आफ्नो मातहतका साथीभाईहरुलाई पनि, निकायहरूलाई पनि निर्देश गरिराखेको छु । र, मैले पाएको जानकारी अनुसार सरकारले आफ्नो बुता अनुसार गरेको छ । अब विरोधका लागि विरोध गर्ने परिपार्टी होइन, यस्तो संवेदनशील बेलामा हामीले सबै मिलेर यथार्थपरक ढङ्गले चल्नु वाञ्छनीय हुन्छ नकि विरोध गर्नका लागि विरोध गर्ने खालको जस्तो स्थिति त्यो राम्रो हुँदैन भन्ने लाग्छ मलाई । अब अझ प्रभावकारी ढङ्गले उद्धारका कामहरू, राहतका कामहरू, पुनर्निर्माणका कामहरू अगाडि बढ्छन् ।’

प्रधानमन्त्री ओलीले आफूले महासभामा भाग लिने क्रममा भारतीय समकक्षी मोदीसँग भेटेको र द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको पनि बताए । त्यसै गरी जलवायु परिवर्तन लगायतका विश्वस्तरीय समस्या विश्वका सबै राष्ट्रहरू मिलेर समाधान गर्नुपर्ने कुरा पनि राखेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले जलवायु परिवर्तनको असर निम्त्याउने राष्ट्रहरूले क्षतिपूर्तिका लागि बढी लगानी गर्नुपर्ने कुरालाई पनि आफूले सो महासभामा जोड दिएको राखेको बताए । 
 



नयाँ