- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताए ।
उनले त्यसको लागि स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर सङ्घ सरकारलाई नाम पठाउनुपर्ने बताए । उनले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको बताए । उनले विपद्बाट मृत्यु भएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेको बताए ।
चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको बताए । उनले घाइतेको स्वास्थ्य लाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको बताए । उनले उद्धार, राहत, पुनः निर्माण, पुनर्स्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने कुरा अघि बढेको बताए ।
उनले भने, ‘हामी अहिले विपद्को अवस्थामा छौँ, धेरै पीडा छ । अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको छ । अहिले जुन जनधनको क्षति भएको छ, त्यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले मृतकका परिवारलाई क्षतिपूर्ति भन्न त मिल्दैन । किनभने मृत्युको क्षतिपूर्ति हुँदै हुँदैन । म सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेका छौँ । चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको छ । तदनुरूप राहत दिने काम भइरहेको छ । घाइतेको स्वास्थ्य लाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेका छाँै । ज्यादा नोक्सानी भएका ठाउँहरूमा विपद्बाट भएका नोक्सानीको सङ्कटग्रस्त क्षेत्र भनेर तोकेका छाँै । त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ । उद्धार, राहत, पुनः निर्माण, पुनर्स्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने कुरा अघि बढेको छ । म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउन सक्छौँ ।’