बल्थली (काभ्रे)। राजधानीका तारे होटलमा सञ्चालित क्यासिनोले सरकारलाई राजस्व तिर्न अटेर गरेकाले उनीहरुलाई राजस्वको दायरामा ल्याइनुपर्ने सरोकारवालाले औंल्याएका छन् ।
राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले व्यवसायीले क्यासिनोबाट करोडौँ कमाए पनि राजस्व तिर्न इन्कार गरिरहेको बताए । उनीहरुले मुलुकको पर्यटन क्षेत्रलाई एकीकृत ढङ्गले नीति बनाएर प्रवद्र्धनात्मक गतिविधिमा जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख सूर्य थापाले होटल र क्यासिनो व्यवसायीबीचको विवादले नेपालका क्यासिनो राजस्वमारा भएको भन्दै नीतिगत रुपमा उनीहरुलाई राजस्वको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।
उनले नेपालबाट सिकेर छिमेकी भारतको व्याङ्गलोर, सिक्किमलगायत राज्यमा राम्रो व्यापार भएको तर नेपालमा भद्रगोल हुनाले पर्यटन क्षेत्रलाईनै असर पुगेको उल्लेख गरे।
राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दीपक महतले पर्यटन क्षेत्रको पुरानो नीतिलाई समयसापेक्ष परिमार्जन गर्न नसकेकाले पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको बताए ।
नाटोजका अध्यक्ष शिव अधिकारीले सरकार र पर्यटन व्यवसायीबीच समन्वय गरी पर्यटन प्रवद्र्धनमा गति दिन संस्थाले सेतुको रुपमा काम गरिहेको बताए ।
क्यासिनोले राज्यलाई तिर्नुपर्ने करिब ४५ करोड बक्यौता रकम पनि नतिरेको पनि सो अवसरमा बताइएको थियो ।
रासस