arrow

ईभीको प्रयोगसँगै नीतिमा समस्या

एमजी इलेक्ट्रिक गाडीको त्रुटिले गम्भीर दुर्घटनामा परेकी भीमसेनदास प्रधानकी पत्नी विद्या अझै बिस्तारामा

यति ठूलो निर्माण त्रुटि भएर दुर्घटनामा पर्दा पनि दिएन गाडी कम्पनीले कुनै क्षतिपूर्ति, प्रधानको कार्यकर्ता भेटघाट गर्ने कोठालाई बनाइयो अस्पतालको बेड, दैनिक हजारौँको उपचार खर्च

logo
सोम, 
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
vidya-banmali-bhimsendas-wi.jpg

काठमाडौँ । गत असार मध्यमा नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानको परिवार एउटा ठूलो दुर्घटनामा पर्यो । त्यो दुर्घटनाको असर अहिलेसम्म छ । तत्काल घट्ने सम्भावना देखिँदैन । 

अमेरिका उडेकी छोरीको बिदाइ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किनै लाग्दा उनकी श्रीमती विद्या वनमालीले एउटा अकल्पनीय दुर्घटना भोग्नुपरेको थियो । त्यो दुर्घटनाको कारण थियो इलेक्ट्रिक भेहिकल । 

बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको उक्त गाडी एमजीको जेडएस भेरियन्ट मोडलको हो । यो प्रधानको परिवारले प्रयोग गर्दै आएको छ । छोरीलाई बिदाइ गरेर फर्किने क्रममा विभानस्थलको अराइभलतर्फको पार्किङबाट वनमालीले उक्त कार स्टार्ट मात्रै के गरेकी थिइन् गाडी अचानक हुँइकियो । 

प्रधानका अनुसार उक्त गाडीले एक्कासी एक सय भन्दा बढी किलोमिटर प्रतिघण्टाको स्पिड लिएपछि नियन्त्रण बाहिर गएको थियो । अरु गाडीसँग पनि ठोक्किन थालेपछि थप क्षति नहोस् भनेर वनमालीले कारलाई इँटाको थुप्रोमा ठोक्काइदिएकी थिइन् । 

यो दुर्घटनापछिको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो । विमानस्थलभित्रै अचानक त्यति ठूलो दुर्घटनापछि अचेत अवस्थामा रहेकी उनलाई ट्राफिक प्रहरी, प्रहरी र सर्वसाधारणले उद्दार गरी अस्पताल पठाएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात तथा छातीका विभिन्न हड्डीहरु भाँचिएका थिए । 

अहिले के छ अवस्था ?
दुर्घटनाको साढे तीन महिना भइसक्दासम्म प्रधानले पत्नीको उपचारमा लाखौँ रुपैयाँ खर्च गरिसकेका छन् । उनलाई घरमै ल्याएर उपचार गरिराखिएको छ । अहिले पनि दैनिक चिकित्सक र थेरापिष्टहरुले नियमित उपचार गर्छन् । 

समय समयमा अस्पताल जानुपर्ने बाध्यता छुट्टै छ । विद्याको दैनिकी सामान्य हुनै सकेको छैन । उनका लागि अस्पतालमा जस्तै घरमा पनि सोही सुविधाको कोठा बनाइएको छ । 

उनका लागि डिजिटल बेड नै राखिएको छ । पूर्व मन्त्री प्रधानले डिजिटल बेड खोज्ने क्रममा सिंगापुरबाट एक जनाले ल्याएको र उक्त सेकेन्ड हेन्ड बेड एक लाख रुपैयाँमा किनेको बताए । 

श्रीमतीको नियमित रेखदेख गर्न पर्ने भएपछि उनको राजनीतिक गतिविधि पातलिएको छ । राजनीति नै पातलिएपछि उनले नेता कार्यकर्ता भेटघाटका लागि भनेर प्रयोग भइराखेको कोठालाई पत्नी विद्याको अस्पतालको कोठा बनाउन पुगेका छन् । 

उनको सपोर्टका लागि घण्टाको एक सय २५ रुपैयाँ दिएर सहयोगी नै राखिरहेका छन् । फिजियोथेरापीका लागि बिहान र साँझ गरी दुई पटक नर्भिकबाट डाक्टर आउने गरेका छन् । 

सबैका लागि प्रधानले मासिक रुपमा तलब नै दिँदै आएको बताए । विद्याको स्वास्थ्यमा केही सुधार भएको तर बाहिर हिँडडुल गर्ने अवस्था तत्काल नभएको प्रधानले बताएका छन् । 

बिरामी निरन्तर बेडमै रहने र बल्ल बल्ल सहाराले कोठा वरिपरि हिँडडुल गराउँदै आएको उनले बताए । 
 
एमजीले बेवास्ता गरेको गुनासो
एमजी चिनियाँ ब्राण्डको गाडी हो । उक्त गाडीलाई नेपालमा बिक्री वितरणको जिम्मेवारी प्यारामाउन्ट मोटर्स नामक कम्पनीले गरिरहेको छ । मुरारका अर्गनाइजेसन अन्तर्गतको उक्त कम्पनीमा मुख्य लगानी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको हो । 

दुर्घटनापछि प्रधानले गाडीको प्राविधिक अवस्था र दुर्घटनाबारे मुरारकासँग कुरा गरेका थिए । शुरुमा आफूले यसबारे बुझ्न लगाउने बताए पनि त्यसपछि भने मुरारका सम्पर्कमै आएनन् । 

प्रधानले अहिलेसम्म एक पैसा पनि नपाएको बताए । 

अहिलेसम्म गाडीको प्राविधिक पक्ष, दुर्घटनाको कारण र क्षतिपूर्तिबारे कुरा गर्न कम्पनीको तर्फबाट कोही नआएको र आफूले सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनसमेत नचाहेको प्रधानको गुनासो छ ।

दुर्घटनाको केही दिनपछि भने कम्पनीको मार्केटिङ विभागका सन्दीप क्षेत्रीले उक्त गाडीको प्राविधिक परीक्षण भइरहेको र त्यसको निष्कर्ष आउन बाँकी रहेको बताएका थिए । यसका लागि केही समय लाग्नसक्ने उनको भनाइ थियो ।  ‘उक्त दुर्घटना र गाडीको प्राविधिक पक्षबारे परीक्षण गरिरहेका छौँ, आयातित सामान भएकोले यसको परीक्षण गर्न समय लागेको हो । त्यसबारे केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छौं,’ उनले भनेका थिए । 

त्यसपछि कसैले पनि चाँसो नराखेको प्रधानको गुनासो छ । 

प्राविधिक कमजोरी मुख्य कारण
यो दुर्घटनाको पछाडि सबैभन्दा मुख्य कमजोरी गाडीको प्राविधिक कमजोरी रहेको प्रधान बताउँछन् । स्टार्ट हुनेबित्तिकै गाडी एक्कासी हुत्तिनु र गाडी ठोक्किँदा पनि एयरब्याग नखुल्नुले आफ्नो परिवारमा यति ठूलो क्षति भएको उनको भनाइ छ । सोही कारण घाइते विद्याको अवस्था सामान्य बन्नै सकेको छैन ।

कुनै पनि सवारी साधन ठूलो दुर्घटनामा पर्दा चालकको टाउको र छाती जोगियोस् भनेर एयरब्यागको व्यवस्था गरिएको हुन्छ । गाडीको स्टेरिङमा रहने उक्त एयरब्याग गाडी ठोक्किएर उच्च प्रेसर भएको ५ मिलिसेकेन्डभित्रै खुल्ने र यसले टाउको र छातीलाई स्टेरिङ वा त्योभन्दा अगाडिको भागसँग ठोक्किनबाट जोगाउँछ । 

यस्तो एयरब्याग सिटबेल्टले छातीमा पार्ने प्रेसरलाई समेत कम गराउने उद्देश्यले डिजाइन गरिएको हुन्छ । तर यो दुर्घटनामा एयरब्यागले समेत काम नगरेको प्रधानको भनाइ छ । 

ईभी गाडीको प्रयोग बढ्दो तर कम्पनी गैरजिम्मेवार
पछिल्लो समय नेपालमा इलेक्ट्रिक भेहिकलको बजार तीव्र बन्दै गएको छ । वार्षिक हजारौँ गाडी नेपाल भित्रिदै आएका छन् । तर यसलाई परीक्षण र नियन्त्रण गर्ने कुनै उपकरण छैन ।

ईभीको प्राविधिक पक्षदेखि क्षमता परीक्षणसम्मको काम सरकारको नियन्त्रणबाहिर रहेको छ । अहिलेसम्म नेपालमा यस्ता सवारी साधनको प्राविधिक पक्ष र गुणस्तर मापन गर्ने यन्त्र नै नभएको यातायात व्यवस्था विभागमा अधिकारीहरु बताउँछन् । उता क्षमता मापन गर्ने उपकरण नहुँदा वार्षिक दशौँ अर्ब राजश्व छली भएको तथ्यसमेत बाहिर आएको छ । 

ईभीका त्रुटिको निराकरण नहुँदा यसले थप दुर्घटना निम्त्याउँदैन भन्ने ग्यारेन्टी गर्ने ठाउँ नै छैन । कम्पनीले गाडी बेच्छ तर कुनै जिम्मा लिँदैन । 

प्रधानको गाडी दुर्घटनामा पर्नुअघि केही समयअघि एमजीकै गाडी एक्कासी आगो लागेको घटना सार्वजनिक भएको थियो । त्यो समयमा कम्पनीले आफ्नो प्राविधिक कमजोरी अस्वीकार गरेको थियो । एमजी मात्रै नभएर अरु इलेक्ट्रिक भेहिकलहरुमा समेत पछिल्लो समय एकपछि अर्को यस्ता समस्या देखिँदै आएका छन् । तर कुनै पनि कम्पनीले जिम्मा लिँदैन । 

विश्वबाटै पेट्रोलियम पदार्थको प्रयोग कम भन्दा कम गरी त्यस्ता गाडी विस्थापित गर्ने योजना विश्व लागिरहँदा स्वभाविक रुपले नेपालमा यसको प्रयोग बढ्नु पर्छ । तर के उपभोक्ता ठगिनु पर्ने बाध्यता रहिहरने हो त ? 

सरकारले ईभी गाडीबारे नीति बनाउनु पर्छ 
पूर्वमन्त्री एवं कांग्रेस नेता प्रधान सरकारले ईभी गाडीबारे कुनै नीति नबनाएकै कारण समस्या थपिँदै गएको बताउँछन् । 

उनले सरकारले ईभी गाडीका बारेमा स्पष्ट नीति बनाउनु पर्ने बताउँछन् । 

नीति नभएकै कारण ईभी गाडी बेच्नका लागि निकै समस्या भएको उनको भनाइ छ । उनले ईभी गाडी किन्दा महँगोमा किन्नुपर्ने तर बेच्दा भने निकै नै न्यून मूल्य आउने गरेको बताए । 

प्रधान भन्छन्, ‘हामी पीडित त भयौँ नै गाडी बेच्नसमेत समस्या भयो । सरकारले नीति बनाउनु पर्यो । नत्र हामीजस्ता थुप्रैले यो समस्याबाट गुज्रनु पर्ने हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ