arrow

विवादित छविका सर्वेन्द्रलाई हराएर ह्याट्रिक गर्न भीमसेनदासलाई सहज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
bhimsendas_pradhan2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं ६ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेले नै सहज ह्याट्रिकको बाटो खोलिदिएको विश्लेषण भइरहेको छ । 

उनका प्रतिस्पर्धी नेकपा एमालेबाट कमजोर, विवादित र अपहरणकारी आईजीपीको ट्याग लागेका उम्मेदवार हुन् पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रक्षामन्त्री भइसकेका प्रधानले यस क्षेत्रबाट २ पटक जितिसकेका छन् ।  

काठमाडौंको राजनीतिका लागि उनी खेलाडी मानिन्छन् । खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन् । एमालेबाट पहिलोपटक राजनीतिक मैदानमा उत्रिएका उनलाई पनि आफू जित्‍नेमा विश्वास छैन । 

सो क्षेत्रमा प्रधान र खनालसहित २४ जनाको उम्मेदवारी परेको छ। राप्रपाबाट विष्णुप्रसाद आचार्य, विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल मैदानमा छन् ।  

२०६४ को चुनावमा माओवादीका हिमाल कर्माचार्य विजयी हुँदा कांग्रेसका प्रधान दोस्रो, एमालेका योगेश भट्टराई तेस्रो भएका थिए । २०७० मा प्रधान विजयी हुँदा भट्टराई दोस्रो र कर्माचार्य तेस्रो भए । २०७४ मा वाम गठबन्धन हुँदा पनि प्रधानले जित हात पारे । २०६४ र २०७० मा हार व्यहोरेपछि भट्टराई गृहजिल्ला ताप्लेजुङ लागे ।  

एमालेले नयाँ अनुहार मैदानमा उतारेको छ । ‘२०६४ सालदेखि हालसम्म अन्य पार्टीको उम्मेदवार परिवर्तन हुँदै आए । म निरन्तर छु । जनताले रुचाएका पनि छन् ।

कांग्रेसको सुरक्षित स्थान भएर अन्य दलका केन्द्रीय तहका नेता आए घाइते हुने भएर एमालेले नयाँ उम्मेदवार उठाएको छ,’ प्रधानले भने । २०७४ सालमा प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई हराएका थिए ।

नव आगन्तुक खनाललाई उम्मेदवार बनाएकोमा एमालेभित्रै असन्तुष्टि छ। खनालको शैली राजनीतिक नभएको आरोपसमेत लागेको छ । यो क्षेत्रमा एमालेले असुरक्षि ठानेर उम्मेदवारमा ट्रायल गरिरहेको छ। २०४८ सालमा पद्मरत्न तुलाधर, २०५६ मा भरत प्रधानलाई उम्मेदवार बनाएको थियो । 

कांग्रेस उम्मेदवार प्रधान राजनीति भनेको रिटायर्ड जीवन बिताउने ठाउँ नभएको बताउँछन् । ‘गैर राजनीतिक व्यक्ति जनतामा अनुमोदनका लागि पठाउनु राजनीतिक पार्टीमा कुसंस्कार हो । जीवनको रिटायर्ड लिनुपर्ने बेलामा राजनीतिमा आउनु राम्रो होइन। राजनीतिमा झन् बढी सक्रियता चाहिन्छ’, कांग्रेस उम्मेदवार प्रधानले भने, ‘जसले जुन पेशा अपनाएको छ त्यही पेशा गर्न दिनपर्छ । राजनीति विश्राम लिने थलो होइन।’

खनाल नयाँ उम्मेदवार र राजनीतिमा नै नयाँ भएका कारण कमजोर त हुन् नै यससँगै उनी सांसद् अपहरण प्रकरणमा जोडिएको र महानिरीक्षक हुँदा पनि विभिन्‍न आरोपहरु लागेका कारण विवादरहित पनि हुन सकेका छैनन् । 

काठमाडौं ६ भित्र काठमाडौं महानगरका वडा नं २६, २७ र २८, टोखा नगरपालिकाका १, ८, ९, १० र ११ तथा तारकेश्वर नगरपालिकाका १, २, ६, ९, १० र ११ नं वडा पर्छन् । 

काठमाडौं क्षेत्र नं ६ मा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेस अघि छ। कांग्रेसका वडाध्यक्षहरूले १७ हजार २ सय ७७ मत प्राप्त गरेका थिए । एमालेका वडाध्यक्षले १४ हजार ३ सय ३ मत प्राप्त गरेका छन् ।

यस्तै, माओवादीका उम्मेदवारले २ हजार ४ सय ६२ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवारले १ हजार ८ सय ५९ मत प्राप्त गरेका थिए । राप्रपाका उम्मेदवारले १ हजार १६ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ