arrow

ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
dhorbarahi.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-९ मा अवस्थित प्रसिद्ध ढोरबाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ ।

नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरबाराही मन्दिरको विकासका लागि पहल थालेको हो । ढोरबाराही मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन गर्ने उद्देश्य राखिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

सोही उद्देश्य पूरा गर्न केही समय अगाडि मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागी भएका मन्त्री पाण्डेले ढोरबाराही मन्दिरको धार्मिक महत्व अपार रहेको भन्दै यसको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाले ढोरबाराही मन्दिरसम्म पुग्ने बाटोसमेत स्तरोन्नति गरिसकेको छ ।

सडकको आवश्यकताअनुसार कालोपत्र र ढलान गरिएको छ । यसले भक्तजनलाई सहज रुपमा मन्दिरसम्म पुग्न सहयोग पुग्ने विश्वास गरिएको छ । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा उक्त सडक स्तरोन्नति गरेको नगरप्रमुख पण्डितले बताए ।

मनोकांक्षा पूरा हुने जनविश्वासका साथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला-बेला लहरी छुट्ने गर्दछ ।

रहस्यमयी लहरीलाई धार्मिक आस्थाका रुपमा लिइन्छ । ढोरबाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।

प्रत्येक १५ मिनेटमा रहस्यमय ढङ्गले चल्ने पानीको लहरीले ढोरबाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च बनाएको शुक्लागण्डकी-९ का निवर्तमान वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

उनले भने, “प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढाएको छ ।”

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्वाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्ट रहेका छन् ।

ढोरबाराही प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकै छिनमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ ।

उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ ।

पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेषगरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा सौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।

मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टामध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको छ ।

मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महिनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चनाका लागि दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ ।

एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुबलि दिइँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ