arrow

नेपाल संवत् ११४५

हाम्रा चाडपर्वहरूलाई राष्ट्रिय एकताका साथ अघि बढाऔँ- प्रम ओली [भिडियो]

सिंगै भक्तपुर एउटा जिउँदो संग्रहालय हो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १७ शनिबार
kp-oli-07-17.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा धार्मिक, सांस्कृतिक चाडपर्वहरूलाई राष्ट्रिय एकताका साथ अघि बढाउनुपर्ने बताएका छन् । शनिबार नेपाल सम्वत ११४५ को अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित एक समारोहमा नेपाल सम्वत जस्ता चाडपर्वहरू सिंगो राष्ट्रको गौरव र उपलब्धि भएकाले यसलाई राष्ट्रिय एकताका साथ अघि बढाउनुपर्ने प्रधानमन्त्री ओलीको आग्रह थियो । 

चाडपर्वहरूलाई अरू कुरा मिसाएर ठूलो यज्ञमा बाँदर आएर भताभुङ्ग पारिदिएजस्तो गर्नु नहुने उल्लेख गर्दै उनले त्यस काममा एकताबद्ध हुन पनि सबैलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले नेपाल संवत् नेपालको आफ्नै सम्वत भएको स्मरण गराउँदै त्यसलाई गरिबी निवारण, दान, परापकारको क्षेत्रको प्रेरणादायी चिन्तन र उदाहरणीय दृष्टिको रूपमा ग्रहण गर्दै अघि बढ्नुपर्ने बताए । 

उनले भने, ‘नेपाल सम्वत हाम्रो आफ्नो संवत् हो । आफ्नो भूमिबाट उत्पन्न भएको सम्वत हो । यसलाई मनाउनुपर्छ भनेर कतिले काटमारपछि जितेर संवत् चलाएका होलान्, कसैले अरूलाई पराजित गरेपछि संवत् चलाएका होलान् । त्यसको मारमा हामीहरू पनि परेका होलाऔं विभिन्न सम्वतहरुको मारमा । तर यो सम्वत कसैलाई मारकाट गरेर होइन, कसैलाई पराजित गरेर होइन, कसैलाई जितेर होइन । गरिबी निवारणको सन्दर्भको प्रयास हो, किंवदन्ती हो, कथा हो वा यथार्थ हो । जे होस् यो कुरासँग शान्ति, यो कुरा दान, परोपकार, गरिबी निवारणसँग जोडिएको छ । यस कारण जे सुकै भए पनि यो हाम्रा लागि प्रेरणादायी छ । गरिबी निवारण गर्नुपर्दछ, अशक्तलाई अग्रभागमा राखेर सेवा गर्नुपर्दछ । उनीहरूलाई सहयोग गर्नुपर्दछ । जो गरिब छ, जो ऋणी छ, त्यसलाई ऋण मुक्त गर्नुपर्दछ भन्ने भाव यस भित्र छ । जो असाधारण चिन्तनको यो बुद्धिज्मसँग पनि सम्बन्धित छ, यो राम्रा शान्तिपूर्ण विचार र मानवतावादसँग पनि सम्बन्धित छ । यसरी यो चिन्तन एउटा सकारात्मक चिन्तन र उदाहरणीय दृष्टान्त हो । यसलाई हामीले अगाडि बढाउनु पर्दछ । यस्ता कार्यक्रमहरूलाई हामीले, यस्ता सांस्कृतिक बढ्नुपर्दछ, बढाउनु पर्दछ । यस्तो कार्यक्रमलाई अरू कुराहरू मिसाएर ठूलो ठूलो यज्ञमा बाँदर आई पुग्यो भने भताभंग पारिदिन्छ यज्ञ । त्यस्तै यज्ञ भाँड्ने खालका क्रियाकलापहरू हामीले कुनै पनि यस्ता राजनीतिक सांस्कृतिक कुराहरूमा यज्ञमा बाँदर आइपुगेजस्तो गर्नु हुँदैन । यसलाई राष्ट्रिय एकताका साथ यो सबैको गौरव, यो सबैको उपलब्धिको रूपमा हामीले लिनुपर्दछ । म सबैलाई आग्रह गर्न चाहन्छु–हामी सम्पूर्ण नेपालीहरू एक होऔँ । हामी सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर बढौँ । र सम्पूर्ण नेपालीहरू यसलाई मर्न नदिने र अगाडि बढाउने यो उत्साहपूर्ण काम हो । जारी राख्नु पर्दछ । अहिले मैले धेरै कुराहरू केही भन्नु छैन यत्रो र्‍याली साथीहरूले गर्नुभएको छ । यत्रो उत्सव छ । यो ११४५ औँ दिवस, जहाँ हाम्रो सम्वत चल्यो । यो भनेको छोटो अवधि होइन । यो दिवस, यस चाडको तागतलाई बीचमा समाप्त पार्न खोजे पनि फेरी यो जुरमुराएको उठेको छ, फेरी बौरिएको छ । फेरि अगाडि बढेको छ । र, सशक्तता प्राप्त गर्दै गएको छ । यसले सशक्तता प्राप्त गर्दै जानेछ ।’ 

उनले सिंगै भक्तपुर एउटा जिउँदो संग्रहालय भएको बताए ।  उपत्यकाको नेवार सभ्यता र संस्कृति दुनियाँका लागि असाधारण र अनुपम रहेको भन्दै उनले नेपाली संस्कृति,परिकार, वाद्यवादनको कुरा गर्दा सबैभन्दा पहिला नेवारी संस्कृतिको उल्लेख हुने गरेको बताए । प्रधानमन्त्री ओलीले नेपाल भाषालाई ऐच्छिक भाषामा राख्ने निर्णय मन्त्रिपरिषद्बाट गर्ने गरी छलफल अघि बढाउने बताए । 

उनले भने, ‘नेपाल संवतको ११४५ औँ वर्ष हो । यो हाम्रो आफ्नो संवत् हो । आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरूबाट उब्जिएको संवत् हो । यो हाम्रो आफ्नै संवत् हो । हाम्रो आफ्नै भाषा,आफ्नै सभ्यता, आफ्नै संस्कृति, नेपाल भाषा, खासगरी उपत्यकाको नेवार सभ्यता र यहाँको संस्कृति दुनियाँका लागि असाधारण र अनुपम छ । नेपाली संस्कृति भन्दा,नेपाली परिकार, वाद्यवादन भन्दा पहिला नेवारी संस्कृति र नेपाल भाषा आउँछ । नेवारी संस्कृति आउँछ । कक्षामा कुन कुन भाषालाई ऐच्छिक भाषामा राखिएको छ र नेवार वा नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्ने भनेर मन्त्रिपरिषद्मा छलफल गर्नेछु र अरू भाषा ऐच्छिक भाषामा राखिएको छ भने नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्दा कुनै नोक्सान हुँदैन । त्यसमा मेरो ध्यान गएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ