arrow

कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
उर्लाबारी (मोरङ)। मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाए । सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गरेका उनले त्यहाँ परिवारका लागि पुग्ने गरी पैसा कमाउन  सकेनन् । कम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खडकाले कतारमा सात वर्ष समय बिताए । 
 
पाँचजनाको परिवारको जिम्मेबारी बोकेका उनले केही समयअघि स्वदेश फर्केपछि थोरै पाखोबारी किने । सानो घर पनि बनाए  । स्वदेशमै केही गर्ने सोच बनाएपनि खडकासँग लगानी गर्न पर्याप्त बजेट भएन । कोलबोटे सामुदायिक संस्थाबाट उनकी श्रीमती मनकुमारीले २५ हजार ऋण लिइन् । 
 
गाउँमा एकीकृत गरिबी निवारण कोषको कार्यक्रम सञ्चालित थियो । उनले ऋण लिएको सामुदायिक संस्थाले गरिबी निवारण कोषबाट आयआर्जनका लागि अनुदान पायो । त्यहीबाट खडकाले १२ प्रतिशत ब्याजदरमा ऋण लिएर लगानी गरे। सो ऋणबाट तीन रोपनी पाखोबारीमा अदुवा र एक रोपनी पाखोबारीमा गोलभेँडा रोप्नुका साथै दुई वटा बाख्राको पाठा खरिद गरे। 
 
उनले भने – “विदेश त कोही पनि नजाओस्, विदेशको जति परिश्रम स्वदेशमा गरे जति पनि पैसा कमाउन सकिने रहेछ ।” खडकाको बारीमा अहिले अदुवा बिक्रीका लागि तयार भइसकेको छ । प्रतिबोट तीन किलोसम्म अदुवा फलेको छ। गोलभेँडा पनि पाक्न थालेको छ । प्रतिबोट चार किलोसम्म गालभेँडा उत्पादन भएको खड्काको भनाइ छ । गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बजारसम्म लैजानु नपर्ने उनले बताए । उत्पादन दिनुभन्दा अघि नै व्यापारीले खरिदका लागि बैना दिएका छन् । 
 
उत्पादन भएको आम्दानीबाट ऋण तिर्ने र बाँकी पैसाले घर खर्च र बालबालिकाको पठनपाठनका साथै बचत गर्छु भन्दै खडकाले “कुम्लेटार क्षेत्रमा सिँचाइका लागि पानीको समस्या नहुने हो भने भएको सबै पाखोबारी भाडामा लिएर भए पनि काम गर्ने सोच रहेको बताए । 
 
 
परिवारसँग बसेर आम्दानी गर्दा छुट्टै आनन्द हुन चर्चा गर्दै खडका भन्छन् – “हाम्रा गाउँका धेरै युवा विदेशिएका छन्, स्वदेशमा लगानी गरे विदेशको भन्दा बढी कमाउन सकिन्छ”, उनको कामले गाउँमा अरुलाई जागरण ल्याएको कोलबोटे सामुदायिक संस्थाकी अध्यक्ष पवित्रा विश्वकर्माले बताइन् । 
 
कोलबोटे सामुदायिक संस्थाको सफल कृषक भएको खडकाको कामप्रतिको लगनशीलताले गर्दा संस्थाले पहिलो पटकको उनको ऋण भुक्तानीपछि पुनः ऋण लगानी गर्ने सोच बनाएको उनले बताइन् । 
 
कोलबोटे सामुदायिक संस्थाबाट धेरैले ऋण लगे पनि खड्काको जतिको प्रगति गर्न नसकेको कोषाध्यक्ष देवीमाया कुरुङ्वाङको भनाइ छ । उनले भने – “आजभोलि संस्थाका सदस्यहरु खडकाको कामप्रति प्रभावित भएका छन् ।” वैदेशिक रोजगारीबाट फर्केकाहरु पनि उहाँकामा गएर बाली लगाउने तरिका र संरक्षणबारे पनि सिक्ने गरेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ