arrow

एमालेले बुझेन कामनपाको जरिबाना पत्र, बालेनले स्टन्टबाजी गरेको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
uml-ktm-patra.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले पठाएको जरिबानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो । 

शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभाबी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो । 

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए । नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरे । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे ।

उनले भने, ‘यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय होइन । महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्ने कुरा थाहा पाउनुपर्छ । यो चिठी बुझाउन यसरी जे हर्कत गरिएको छ, एकदमै बेठिक भएको छ । मेयर सावले जे कुरा गरिरहनुभएको छ, नेपालमा सायद कुनै पनि कार्यालयमा चिठी बुझाउन जाँदा यस्तो तरिकाले आइँदैन । जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला । सामान्य प्रशासनिक कुरा पनि बुझ्नुहोला । यो बिलकुल स्टन्टबाजी हो । कार्यक्रम सकिएपछि सफा गरिएको छ । त्यो चिठी अघिल्लो दिन नै प्रिन्ट गरेर राखिएको छ । कार्यक्रम नसकिँदै चिठी मिडियामा लगिएको छ । एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’



नयाँ