- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताए ।
विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरू जारी रहेको बताए । प्रधानमन्त्री ओलीले आत्मसम्मानसहितको मानव अधिकार, स्वास्थ्य र आशासहितको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए ।
उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकंक्षालाई देखिने खालका उपलब्धिमा रूपान्तरित गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएको बताए ।