मेरो बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयो- ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
324
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्। सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताए ।
व्यवसायी दुर्गा प्रसाईँप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम गरेको बताए । उनले नक्कली चिर्कटो बनाउन एक करोड, ११ लाख तिरेको कुरा प्रसाईँ स्वयंले स्वीकारेको पनि बताए । उनले आफ्नो विभिन्न देशका बैङ्कमा पैसा राखेको भ्रम फिँजाउनेहरूलाई समातेर पुष्टि गर भन्दा बदनामको लागि बोलेको स्वीकार गर्ने गरेको बताए । उनले आफू सच्चाई र इमानदारितामा अडिग रहेको भन्दै भित्रैबाट इमानदार अभ्यास गर्नुपर्ने बताए ।
उनले भने, ‘४-५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरू पनि छन् । यस्ता खालका मानिसहरू पनि छन् । कहाँको बैङ्कमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैङ्क खातामा छ भनेर हल्ला गर्नेहरू पनि देखिन्छन् । तिनीहरूलाई समातेर कहाँ छ ल पुष्टि गर त बैङ्कलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बदनाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् । हामी सच्चाईमा अडिग छौँ । इमानदारिता थोपरेर होइन, आफू भित्रबाट आउनुपर्छ । भित्रबाट इमानदार आचरण गर्नुपर्छ । भित्रबाट इमानदार अभ्यास गर्नुपर्छ ।’