कान्ति राजपथ निर्माणमा रकम अभाव हुने छैन : मन्त्री लेखक
प्रकाशित २०७३ पुष ११ सोमबार
979
Shares
हेटौँडा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कान्ति राजपथ निर्माणमा रकमको अभाव हुन नदिइने बताएका छन् । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा रहेको कान्ति राजपथको प्रस्थान बिन्दु ललितपुरको सातदोबाटोबाट अनुगमन गर्दै हेटौँडा पुगेका मन्त्री लेखकले २०७५ सम्ममा उक्त मार्ग कालोपत्रे भइसक्ने बताए ।
मन्त्री लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा ठूलो महत्व बोकेको उक्त सडक समयसीमा भित्रै निर्माण सम्पन्न गरिने बताउँदै सो सडक चौडा गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ एक अर्ब दश करोड खर्च लाग्ने जानकारी दिए ।
हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो चापागाउँ दोबाटोसम्म ९० किलोमिटर लम्बाइ र तीनदेखि पाँच मिटर चौडाइको सडक विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न लागिएको आयोजना प्रमुख देवेन्द्र शाहले बताए ।
बुद्धचोकदेखि ललितपुरको टीकाभैरव पुलसम्म ७९ किमी सडक चौडा बनाउन कन्टेक प्रालि, एससिसी मोतिदान जेभी, महालक्ष्मी सिं एण्ड ब्रदर्स जेभी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । त्यस्तै टीकाभैरव पुलदेखि चापागाउँ दोबाटोसम्म ११ किमी चौडा गर्ने कार्य सडक डिभिजन कार्यालय ललितपुरले गर्ने आयोजना प्रमुख शाहले बताए ।
सडक स्तरोन्नतिका लागि सरकारले अघिल्ला आवमा पाँच–पाँच करोड बजेट छुट्याउँदै आएपनि चालु आवमा ३९ करोड विनियोजन गरेको बताइएको छ । यसअघि सरकारले यस योजनामा झन्डै रु ४७ करोड रकम खर्चिसकेको छ । २०१३ सालमा कान्ती राजपथको शिलान्यास २०१३ सालमा भएको थियो ।
यस सडकलाई दक्षिणकाली–सिस्नेरी सडक खण्ड र त्रिभुवन राजपथको विकल्पका रुपमा समेत हेरिएको छ । कान्ती राजपथको ट्र्याक निर्माण भएको झन्डै ६० वर्ष बितिसक्दा पनि सरकारको प्राथमिकतामा नपर्दा निर्माण कार्य अघि बढ्न सकेका थिएन । अहिले सडक सरकारको प्राथमिकतामा परेपछि स्थानीय खुसी भएका छन् । रासस