एन्फिल्ड । इङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पुनः दोस्रो स्थानमा पुगेको छ । घरेलु मैदान एन्फिल्डमा मंगलबार राति भएको खेलमा स्टोक सिटीमाथि ४–१ को नतिजा ग्रहण गर्दै लिभरपुलले शीर्ष स्थानको चेल्सीसंग अंकदूरी कम गरेको हो ।
खेलमा स्टोकले प्रारम्भिक अग्रता लियो । १२ औं मिनेटमा जोनाथन वाल्टर्सले गोल गर्दै पाहुना टोलीको मान बढाए ।
तर त्यसपछि लगातार गोल खाँदा स्टोक स्तव्ध भयो । घरेलु दर्शकलाई खुसी पार्न लिभरपुलका लागि एडम लालाना, रोबर्टो फिर्मिनो र डानियल स्टुरिजले एक एक गोल गरे ।
स्टोकका वांगाले आत्मघाती गोल गरेपछि लिभरपुललाई शानदार जित हासिल गर्न झनै ठूलो मद्धत मिल्यो ।
यो खेलसंगै १८ औं चरणसम्म चेल्सी ४६ अंकबाट शीर्ष स्थानमा विराजमान हुँदा ४० अंकबाट लिभरपुल दोस्रो स्थानमा छ । एक अंक कममा रहेको म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ । ३७ अंकको आर्सनल चौथो स्थानमा छ ।
१८ औं चरणको अन्तिम खेलमा बुधबार राति १ः३० बजे साउथह्याम्पटनले घरेलु मैदानमा टोटनह्याम हटसपरसंग खेल्दैछ ।