जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति गगनले जनाए आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
2.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको विजेता जनकपुर बोल्ट्सका समर्थकप्रति भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।
शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेपछि जनकपुरका समर्थकप्रति केही व्यक्ति र समूहले नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको भन्दै थापाले दुःख व्यक्त गरेका हुन् ।
उनले मधेसी आयोगले यसको कानूनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको भन्दै यो कदमको प्रशंसा गरेका छन् । उनले यस्ता हर्कतहरु कुनै पनि बहानामा स्वीकार गर्न नसकिने बताए ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,'जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानूनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ । जुन एकदमै सकारात्मक छ । सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस् । यी हरकतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन । नो इफ नो बट ।'