कालीकोट । जिल्लाका विभिन्न ६ गाबिसका किसानहरुलाई मंगलबार कृषि सामाग्री प्रदान गरिएको छ । विश्व कृषि संगठनको आर्थिक सहयोग तथा जिल्ला कृषि बिकास कार्यालय कालीकोटको समन्वय र हिमालयन सामुदायिक स्रोत बिकास केनद्रको सहजीकरणमा कालीकोटका रकु, लालु, मान्म, भर्ता, सुकाटिया र कालीका गाबिसका ३६ जना कृषकलाई तरकारी बालीमा बिषादी छर्ने स्पेयर र सिकेचर वितरण गरिएको हो ।
जिल्ला कृषि बिकास कार्यालयमा एक कार्यक्रम आयोजना गरी यि सामाग्रीहरु बाँडिएको हो । जोखिममा परेका कृषक परिवारको कृषि उत्पादन प्रबद्र्धन गर्न एवम् खाद्य पोषण सुधार सुरक्षित गर्न सामाग्री सहयोग कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको हिमालयन सामुदायिक स्रोत बिकास केन्द्रका अध्यक्ष कर्ण चौलागाइँले जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला कृषि बिकास कार्यालय कालीकोटका बरिष्ठ कृषि बिकास अधिकृत सुनिलकुमार सिंहले व्यवसायिक कृषि खेतीमा लागेका कृषकहरुको उत्पादन बढाउन उनीहरुलाई सहयोग गरिएको बताए । संस्थाले यो कार्यक्रम अन्तर्गत जिल्लाका कार्यक्रम लागू भएका गाबिसका ४ हजार घरधुरीका किसानलाई विउ बितरण तथा ३२ वटा प्लाष्टिक टनेल र ६ वटा फलामका टनेल निर्माण गरिएको जनाइएको छ ।