विदेशी मुलुकसँगको सम्बन्ध बलियो बनाउन ४१ देशका संयोजक तोकिए, अस्ट्रेलियाका लागि गगन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
843
Shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरूसँग आग्रह गरेका छन् । बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरूसँगको छलफलका क्रममा उनले संसदीय मैत्री समूहका संयोजकहरूसँग यस्तो आग्रह गरे ।
उनले नेपालको संसद्ले विभिन्न ४१ देशका सांसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिए ।
उनले नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदी अरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल-अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल-कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल-नर्वे संसदीय मैत्री समूहको संयोजकमा डा चन्दा कार्की र नेपाल-भुटान संसदीय समूह सुशीला श्रीपालि ठकुरीलाई तोकिएको बताए ।
त्यस्तै नेपाल-संयुत्तः राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल-बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल-जापान संसदीय मैत्री समूहको संयोजकमा डा.नारायण खड्का, नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ छन् ।
उनले भने, ‘नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ छन्, जो नेपाली काँग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल र साउदी अरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा,नेपाली काँग्रेसकै दलबाट प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेस । नेपाल-अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेकपा एमाले ।
नेपाल-कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेकपा एमाले । नेपाल-जर्मनी संसदीय मैत्री समूह कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले । नेपाल-नर्वे संसदीय मैत्री समूहको संयोजकमा डा चन्दा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी । नेपाल-भुटान संसदीय समूह सुशीला श्रीपालि ठकुरी, नेकपा ( माओवादी केन्द्र) । नेपाल-इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी गरेर ४१ समूहका संयोजकहरू सकिएको छ । बाँकी तीन समूह बनाइसकेका छौँ । संयोजकमा केही मिलाउन बाँकी छ । सकेसम्म चाँडो मिलाउनेछौँ ।’
सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।