भ्रष्टाचार एकअर्कालाई खुइल्याउने हतियार बन्यो, कुन कुन फाइल खोल्ने हो छलफल गरौँ - गगन थापा [भिडियो]
एउटा बैठक चाहिँ आमन्त्रित गरेर भए पनि अर्को पूर्वप्रधानमन्त्रीलाई पनि बोलाऊँ र यही समितिको बैठकमा बसेर एक पटक छलफल गरौँ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
589
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरूबारे छलफल गर्न प्रस्ताव गरेका छन् । बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।
उनले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रूपमा प्रयोग गर्ने गरेको बताए । उनले फाइल खोल्ने विषयमा नागरिक आजित भएको अवस्था सिर्जना भएको उल्लेख गर्दै शीर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘यो भ्रष्टाचारको विषय चाहिँ हाम्रो सन्दर्भमा छलफल गर्ने विषय कसरी बन्दै गयो भने हामीले एक अर्कालाई आरोपित गर्नका लागि, कसैले पनि कसैलाई खुइल्याउनुपर्यो भने सबैभन्दा सजिलो हतियार चाहिँ भ्रष्टाचारसँग जोडिएका विषयहरू हुने भए । ती विषयहरूलाई हामी त्यसरी नै प्रयोग गर्ने भयौँ । विधेयक पारित गर्दा म सत्तापक्ष थिएँ कि प्रतिपक्ष थिएँ भनेर अलमलिने अवस्था छ । यहाँ पूर्वप्रधानमन्त्रीज्यु हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यू पनि आइरहनुभएको छ । बरु एउटा बैठक चाहिँ आमन्त्रित गरेर भए पनि अर्को पूर्वप्रधानमन्त्रीलाई पनि बोलाऊँ र यही समितिको बैठकमा बसेर एक पटक छलफल गरौँ । भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने हो । फाइल खोल्ने फाइल खोल्ने भन्ने विषय मात्र कसरी आयो भने कहिले सरकारमा बसेको मान्छेले म फाइल खोलिदिन्छु भन्ने, कहिले सरकारबाट बाहिर गएको मान्छेले मैले फाइल खोलिदिन लागेको थिएँ त्यसकारणले यस्तो भयो भन्ने भयो । बाहिर बसेका मान्छेलाई फाइल कसले खोल्छ ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? हामीले त अख्तियारले फाइल खोल्ने कानून बनाउँदैछौं । अख्तियारले फाइल खोल्छ । यो फाइल भन्दा भन्दा नागरिक पनि आजित भएको अवस्था भयो । त्यसको एउटा छलफल नै गरौँ । कुनकुन फाइल खोल्ने हो शीर्ष नेता बसेर छलफल गरौँ ।’