संसद् सञ्चालन भएको पहिलो दिन त्यहाँ पेश गर्छौँ र अगाडि बढाउँछौँ - ओली [भिडियो]
कानून निर्माण काम रोक्नका लागि होइन, काम गर्नका लागि हुनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
633
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभई काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताए ।
उनले कतिपयले यसको विरोध गर्न खोजिरहेको भन्दै १५-२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानूनको रूप लिइसक्ने बताए । उनले दुई महिनासम्म देशका कामहरू रोकेर राख्न नमिल्ने बताए । उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताए ।
उनले विकासका काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताए । उनले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्बाध उपयोग गर्न पाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीले भर्खर कानून अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन् । अध्यादेशले शासन खोज्यो भने । १५-२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौँ । त्यहाँ छलफल गर्छौँ । र अगाडि बढाउँछौँ । दुई महिनाभित्र त्यसको टुङ्गो लागिसक्नुपर्छ । तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन । एउटा देशको दुई महिना भनेको महत्त्वपूर्ण छ । अत्यन्त जरुरी कुराहरू । अहिले खोल्न जरुरी छ । उद्यमी व्यवसायीहरू अहिले तड्पिएका छन् । हाम्रा नीतिहरू, कानूनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन । रोक्न कानून बनेका छन् भने त्यस्ता कानूनलाई फेर्न पर्दछ । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानूनहरु परिवर्तन गर्नुपर्छ । एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ । अध्यादेश भनेको कुनै छुट्टै पृथक् केही कुरा होइन ।’