नेपाल एउटा समृद्ध देश हुनुपर्दछ - प्रधानमन्त्री ओली [भिडियो]
गरिबी एआईको जमानामा एउटा कलङ्कको रूप
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
650
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै रहेको उल्लेख गरे ।
उनले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश भएको उल्लेख गर्दै वाधिन र स्वाभिमानी देश भएको बताए ।
उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए । नेपालले तेल र फलाम खानीहरूको उत्खनन गरिरहेको भन्दै कलङ्कको रूपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ । तीन वटा कारण छन् । एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश हो । सधैँ स्वाधीन र स्वाभिमानी देश हो । यस कारण यो समृद्ध हुनसक्दछ । यसको भूगोल समृद्ध हुनसक्दछ । हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । फाँटहरू छन्, उर्वरता छ । यो मरुभूमि देश होइन, यो उर्वर देश हो । हामी तेलको उत्खनन गर्दै छौँ । हामी फलामहरूको उत्खनन गर्दै छौँ । हामी अनेक हिसाबले आत्मनिर्भर हुन सक्छौँ । त्यसकारण यो देश समृद्ध हुनसक्छ । हामीसँग मेहनती, बहादुर, प्रसिद्ध युवा जनशक्ति छ । ४२ प्रतिशत युवा जनशक्ति अहिले पनि छ । नेपालले विकास गर्ने सम्भावना रहेको छ । अहिले २२ लाख करिब युवाहरु विदेश गएर दुनियाँलाई विकास दिइरहेका छन् । आफ्नो देश विकास गर्न नसक्ने भन्ने होइन । अहिले पनि १ करोड युवाहरु देशभित्रै छन् । एआईको जमानामा एउटा कलङ्कको रूपमा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्दछ । यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ । नेपाली जनतालाई सुखी बनाउनु पर्दछ ।’