काठमाडौं। चन्द्रागिरि केबलकारसम्म पुग्न निः शुल्क बस सेवा सुरु भएको छ । कम्पनीले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ ।
थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निः शुल्क बस सेवाको सुरु भएको चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए।
उनका अनुसार भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न पुग्ने पर्यटकहरुलाई थप सहज बनाउन निः शुल्क बस संचालन गरेको जानकारी दिए ।
बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । पुन सोहि स्थानहरु हुँदै फर्किएर यात्रुहरुलाई ओसार प्रसार गर्ने छन् । चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिने कम्पनीले व्यवस्था मिलाएको छ ।