प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाऔँ - प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
568
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले सरकारी कार्यक्रमहरु आदेश, निर्देशमा हुने तर जनताको कार्यक्रम नहुने गरेको भन्दै यस्तो परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताए ।
संविधान दिवस, प्रजातन्त्र, दिवस, लोकतन्त्र दिवस जस्ता जनताले ल्याएका उपलब्धिका दिनहरू जनताले जनस्तरबाट मनाउन पाउनुपर्ने बताए । यस्ता उपलब्धिहरूमा जनता सहभागी बनेर र जनस्तरबाट खुसी साटासाट गरेर मनाउनुपर्ने बताए । नेपालमा सबैभन्दा ठूलो परिवर्तन गर्ने आन्दोलन २००७ सालको आन्दोलन नै भएको दाबी गर्नुभयो । हिंसालाई जनयुद्ध भन्न रुचाउने तर २००७ सालको आन्दोलनलाई स्वीकार्य तयार नहुने स्थितिको अन्त्य जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘सरकारी कार्यक्रम हुने, आदेश निर्देशमा चल्ने, जनताको कार्यक्रम नहुने यस्तो हुँदै गयो । यसलाई जनताको कार्यक्रम कसरी बनाउन सकिन्छ ? भन्ने कुरामा संविधान दिवस होस्, प्रजातन्त्र दिवस होस्, गणतन्त्र दिवस होस् । यस्ता कुराहरूलाई जनताको विषय बनाउनु पर्दछ र जनताले यस्ता कुरामा सहभागी भएर सेलिब्रेट गर्न कसरी पाउने, कसरी जनतालाई जोड्ने त्यो कुरामा हामी लाग्नुपर्छ । नत्र भने केही पनि हुँदैन । टुँडिखेलमा मनाउँछौँ, तर त्यहाँ बार बाहिरबाट नमस्कार गर्ने बाहेक जनता जोडी सक्दैनन् । जनस्तरमा प्रजातन्त्र दिवस मनाउनु पर्छ । यो त ल्याएको जनताले हो । जनताको निरन्तरता छँदै छ । जनस्तरमा, नयाँ पिँढीमा कसरी पु¥याउने भन्नेमा लाग्नुपर्छ । नेपालमा सबैभन्दा ठूलो परिवर्तन गरेको कुनै आन्दोलन छ भने २००७ साल कै आन्दोलन हो । एकातिर जनयुद्ध भनेर मान्छे मारेकोलाई भन्न रुचाउने, हिंसालाई जनयुद्ध भन्ने । अर्कोतिर त्यत्रो परिवर्तन ल्याउने कुरालाई मान्न, स्वीकार्य रुचि ठ्याम्मै नहुने ? यस्ता कुराहरू छँदै छन् ।’
जनस्तरबाट प्रजातन्त्र दिवस मनाउनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहने बताइएको छ ।
यसै गरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ । वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।