कांग्रेसका लागि यी कुराहरू सरकारभन्दा महत्त्वपूर्ण - गगन थापा [भिडियो]
विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
591
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभूत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताएका छन् । महामन्त्री थापाले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरूमा सम्झौता नगरिने बताए ।
उनले वर्तमान सरकार नेपाली कांग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको बताए । उनले सरकार बनाउने कुरामा अरूसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै बाँकी यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो । हामीले गरेको होइन । त्यो आफैँ निर्माण भएको हो । अब नेपाली कांग्रेसले के गर्ने हो ? नेपाली कांग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ । हामीले अहिले नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौं । यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो ? फेरि अर्को पार्टीसँग मिलेर जानुपर्यो । चलाचल गरेर बसिराख्ने ? कि नेपाली कांग्रेस पार्टीले एउटा जिम्मा लिउ । हामी सबै कांग्रेसको नेतृत्व पङ्क्तिको एउटै अठोट के हो भने समय खेर नफालौँ । यो तीन वर्षको समयको अधिकतम सदुपयोग गर्ने । यो बीचमा सरकार पनि नबदल्ने हो । हामी आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ । निश्चित समयपछि हाम्रो सभापतिको नेतृत्वमा सरकार जान्छ । हामीले सात बुँदै सहमति गरेका छौं । त्यही सहमतिको आधारमा तीन वर्ष सरकार चलाउँछौँ । नेपाली कांग्रेस प्रष्ट क कि यदि नेपाली विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरूका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ती कुराहरू नेपाली कांग्रेसका लागि सरकारभन्दा महत्त्वपूर्ण कुरा हो । यसमा कांग्रेस स्पष्ट छ । विश्वास छ एमाले पनि यसमा स्पष्ट छ ।’