काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतको उत्तरप्रदेशस्थित प्रयागराज महाकुम्भमा डुबकी लगाएका छन् । सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै महामन्त्री थापाले महाकुम्भमा डुबकी लगाएको जनाएका हुन् ।
उनले पत्नी डा.अन्जना केसीसहित डुबकी लगाएको तस्बिर सार्वजनिक गरेका हुन् । तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।’
महामन्त्री थापासँगै उनका ससुरा एवं नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, सांसद एवं पूर्व मन्त्री अर्जुननरसिंह केसी पनि परिवारसहित साथमा रहेका छन् ।
आगामी फागुन १४ गते महाशिवरात्रीसम्म चल्ने डेढ महिने महाकुम्भमा अहिलेसम्म ५३ करोड ७१ लाख भन्दा बढी श्रद्धालुले डुबकी लगाइसकेका छन् ।
नेपालबाटसमेत हजारौँ श्रद्धालु महाकुम्भमा पुगेका छन् ।