काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “लोकसेवा आयोगको आर्थिक वर्ष २०८०-८१ को पैंसठिऔं वार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ.व. २०७९-०८० पेस गर्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।