दश वर्ष राजनीतिमा समय खेर नफाली विकासको गति कम्तीमा चार गुणाले बढाउनु पर्छ – गगन थापा
सबैले ८४ पछि काम गर्छु भन्छन्, तीन वर्षको जिम्मा कसले लिने ? कुनै पनि हालतमा कांग्रेसले लिनै पर्छ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
2.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कुनै पनि नेताले ०८४ सालको निर्वाचनबारे सोच्न नहुने बताएका छन् । पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवमा बुधबार बोल्दै नेता थापाले विकास मात्रै नेपालको एजेन्डा भएको बताएर तीन वर्ष कांग्रेसले विकासका बारेमा मात्रै सोच्नुपर्ने बताए ।
उनले कांग्रेसको कुनै दुस्मन नभएको र दुस्मन कोही छ भने त्यो गरिबी भएको बताए । कांग्रेसको कुनै अर्को पार्टी पनि दुस्मन पार्टी नभएको बताए ।
उनले एउटा कम्युनिष्टलाई बाँच्न कोही न कोही दुस्मन चाहिने भन्दै पार्टी बैठकमै दुस्मनका बारेमा लेखिने गरिएकामा कांग्रेसले भने कोही पनि दुस्मन पार्टी नभएको स्थापित गर्दै जाने बताए ।
उनले अबको एउटै विकल्प भने आय आर्जन बढाउने र धनी बन्ने भएको बताए । दश वर्षभित्र अहिलेको आम्दानीलाई चार गुणा बढाउने भएको भनी नेता कार्यकर्तालाई बुझाए ।
उनले संविधानमा लेखिएका कुरा बाहेक अरु विकसित नभएको भन्दै संसदमा ३३ प्रतिशत महिला भनेपछि भएको, दलित भनेपछि भएको तर सरकारमा लैजानैपर्छ भनेर नभनेसम्म त नहुँदो रहेछ भनी तीतो सत्य सुनाए ।
उनले जाति जनजाति, दलित गैरदलित, पहाडी मधेसी सबै हुनुपर्ने र सामाजिक संस्कार सबैले पाउनुपर्छ भनेर सिक्नुपर्नेमा जोड दिए ।
नेता थापाले काठमाडौँलाईमात्र अधिकार दियो भने जग्गाको भाउमात्र बढाउँदो रहेछ भनेर सिकाएकाले गाउँगाउँ पनि अधिकार छरिएको बताए ।
उनले प्रजातन्त्र नेपालमा बलियो भएको बताउँदै भने, ‘५० भन्दा बढी देशले नसकेको युद्धबाट आएको दललाई हामीले ग्रहण गर्न सक्यौँ, बहन गर्न सक्यौँ । यी सुखद पक्षहरु हुन् । नेपालको प्रजातन्त्र कसैले लैजान सक्दैन ।’
उनले आफूहरु चुकिरहेको भनेको विकासको गति भएको बताए । उनले अगाडि भने, ‘हामीले धेरै प्रगति गरेका छौँ तर पुगेन । विकास भयो तर पुगेन । विकासको गति पुगेन भनेर जनताले भनेका छन् । जीवनस्तर उकासिनु पर्यो भनेका हुन् ।’
विकासका लागि कसैलाई माफी दिने अवस्था नभएको भन्दै महामन्त्री थापाले, ‘हाम्रो अधिकारलाई जोगाएर ८० देखि ९० को १० वर्ष कुनै राजनीतिमा समय खेर नफाली विकासको गतिलाई कम्तीमा चार गुणाले बढाउनु पर्छ ।’
उदाहरण दिँदै भने, ‘सडक बन्न लाग्ने समयलाई चार गुणाले घटाउनु पर्छ । मासिक आम्दानी चार गुणा बढाउनु पर्छ । जहाँ घटाउनु पर्छ घटाउनु नै पर्छ बढाउने ठाउँमा बढाउनु पर्छ ।’
उनले दश वर्षभित्रमा प्रत्येक नेपालीको आत्मसम्मान बढाउने काम कांग्रेसले गर्ने पनि बताए ।
नेता थापाले भने, ‘नेपाली कांग्रेसले समयको महत्व बुझ्नु पर्छ । कांग्रेसले ०८४ को चुनावबारे अहिले चर्चा गर्न पाउँदैन । अहिलेसम्म एउटै पार्टीले सरकार बनाउन सकेको छैन । चुनावी एकता गरेर पनि सम्भव भएन । चुनावपछि एउटा पार्टीले बहुमत ल्याउन नसके पार्टी मिलेर सरकार बनाउनु पर्छ । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएको छ ।’
कसैलाई पनि काम नगर्ने छुट नभएको भन्दै नेता थापाले भने, ‘अहिले जसले पनि ०८४ पछि देश बनाउँछु भनेका छन् । अबको तीन वर्ष के गर्ने त ? बीपीको सरकार जम्मा १८ महिना चलेको हैन ? मनमोहनको सरकार ९ महिना चलेको हैन ? काम गर्नेलाई तीन वर्ष बढी नै हो । तसर्थ तीन वर्षको समयका लागि कांग्रेसले मिसन ०८४ हैन मिसन गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारी भन्नुपर्छ ।’
उनले कांग्रेसले संघदेखि स्थानीय तहसम्म हासिल गरेको जिम्मेवारीलाई बुझ्नुपर्ने बताए । ‘हामीले तीन वर्ष सरकार चलाउन पाउँदै गर्दा यो यथेष्ट समय हो । तर सबै सरकारले काम गर्ने होइन’, नेता थापाले भने ।
स्वास्थ्य बिमा सोचेको जस्तो नभइरहेको भन्दै नेता थापाले भने, ‘नेपालमा घरवारविहीनदेखि राष्ट्रपतिसम्मले उपचार पाइन भनेर भन्ने अवस्था नआओस् । सबै नेपालीका छोराछोरीले गुणस्तरीय शिक्षा पाउनु पर्छ । बाँकी रहेको सबै व्यक्तिले गर्छ ।’
नेता थापाले उद्योग, कारखाना सरकारले हैन निजी क्षेत्रले खोल्नुपर्नेमा जोड दिँदै भने, ‘पाल्पाको ढाकाटोपी सबैले देशैभर मनपराउने भनेर सरकारले कारखाना खोल्छु भनेर खोल्यो भने चल्दैन । कुनै बेला नेपालमा सरकारले जुत्ता बनाउँथ्यो, कागज बनाउँथ्यो, टायर बनाउँथ्यो, चिनी बनाउँथ्यो । तर खोइ त अहिले ? कम्युनिष्ट नेताहरुले अहिले पनि गाउँगाउँमा पुगेर नेपाली उद्योग खोल्ने कुरा गर्छन् । तर के अहिलेसम्म कुनै उद्योग खोल्यो ? खोलेन । सरकारले उद्योग चलाएको बेलामा देशभरबाट उठ्ने १२ अर्ब उठ्थ्यो । तर सरकारले ढुकुटीबाट फ्याक्टी चलाउन पैसा दिन्थ्यो । यो गलत रहेछ भनेर कांग्रेसले निजी क्षेत्रलाई छाडिदिनुपर्छ भनेर निजीकरण गरिदियो । अहिले १० करोड जोर जुत्ता चाहिन्छ । १७ करोड बन्छ नेपालमै । नेपालले ५० लाख जोर जुत्ता भारतलाई बेच्छ । अब ५ करोड जोर बेच्ने कसरी बनाउने भनेर सोच्ने होला नि ?’
उनले अगाडि भने, ‘विद्युत प्राधिकरणले मात्र बिजुली उत्पादन गर्ने भएको भए आज देशभर नै उज्यालो हुन्थ्यो त ? भएको त निजीकरणले गर्दा भएको हो नि । नेपालमा सरकारलेमात्र जहाज उडाउने भएको भए अन्य निजी क्षेत्र कसरी आउँथ्यो त ? भारतको सडक बन्यो भन्दै गर्दा त्यो सडक कसले बनायो भनेर ख्याल गर्दैनौँ । सडक पनि निजी क्षेत्रलाई छोडिदिँदा हुन्छ । विमानस्थल पनि सरकारले चलाउनु पर्छ भन्ने होइन । सरकारले निजी क्षेत्रलाई छाडिदिने हो भने धेरै काम नेपालीले नै गर्न सक्छन् । सूचना प्रविधिमा त अहिले युवाले गजब नै गरेका छन् ।’
उनले देश बिग्रियो डुब्यो भनेर बिहानदेखि साँझसम्म घरमा भनेर छोरा नातिलाई विदेश पठाउने बाटो नखोल्नसमेत आग्रह गरेका छन् । उनले सबैले मिलेर काम गर्ने हो भनेर भन्न सक्नुपर्ने पनि उनले बताए ।