आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर यो पुस्तक २४ क्यारेटको छ – ओली
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
801
Shares
काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरे ।
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताए । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।
“न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थेँ । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”, लेखिका शाक्यले भनिन्, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थेँ । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”
राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाइ थियो ।
“हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन”, प्रधानमन्त्री ओलीले भने, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”
देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए ।
“जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन् । सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्”, उनले भने, “मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो ।”
बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनेको होः शाक्य
लेखक तथा प्रथम महिला शाक्यले देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री ओली जस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताइन् ।
आफूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखिन् ।
“हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ । जीवनको एक–एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो”, शाक्यले भनिन्, “सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।”
‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’
पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाको जीवनका आरोह–अवरोहमा आधारित पुस्तकले जस्तोसुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताए ।
नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकुलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखे । गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुभव व्यक्त गरे । लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा शाक्यको योगदानलाई बुझ्न सकिने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओली र शाक्यको ३७ औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उनीहरूलाई बधाइ दिनुका साथै सम्मान गरिएको थियो ।