अति विपन्न दलित महिलामाथि कुटपिट, पीडक ठाडो निवेदनमा पक्राउ
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ फागुन १० शनिबार
584
Shares
काभ्रे । भुम्लु गाउँपालिका वडा नं ४ चौबास स्थित पाक्पा टोलमा बस्ने अति विपन्न दलित महिलामाथि कुटपिट भएको छ । कान्छो सार्कीकी श्रीमती ५७ वर्षीया मसली सार्कीलाई गत फागुन ४ गते दिउँसो ३ः३० बजेको समयमा कुटपिट भएको हो । स्थानीय चौबास बजार, बिष्णु प्रसाद चौलागाईको सानो टहरो चिया पसल अगाडि सार्वजनिक स्थलमा कुटपिट भएको थियो ।
मसली सार्कीलाई भुम्लु गाउँपालिका वडा नं ४ उर्लेनी बस्ने सूर्यबहादुर तामाङको छोरा ४० वर्षिय विजयकुमार तामाङले कुटपिट गरेको पीडित मसली सार्कीका छोरा अमबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा जाहेरी दिएका छन् ।
मसली सार्की चिया पसलमा जाँदा कसुरदार बिजय कुमार तामाङले पानी छ्यापी त्यस ठाउँबाट हटाउन खोज्दा उक्त विवाद चर्किएको थियो । तत्पश्चात कसुरदार विजय तामाङले मसली सार्कीलाई लात्ती प्रहार गरी घाइते बनाएका थिए ।
कसुरदारले लात्ती प्रहार गरी मरणासन्न हुने गरी कुटपिट गर्दा पीडित घाइते महिला बेलुका बेहोश भएकी थिइन् । भोलिपल्ट पीडितको श्रीमान कान्छो सार्की खोजतलास गर्ने क्रममा सो स्थानमा मसली सार्कीलाई घाइते अवस्थामा फेला पारेका थिए ।
उनका श्रीमान कान्छो सार्कीले भोलिपल्ट बिहान पीडित सिकिस्त भएको कारण एम्बुलेन्स बोलाएर एम्बुलेन्समा राखी धुलिखेल अस्पताल पुर्याएर उपचार गर्ने क्रममा निज घाइते महिलाको देब्रे पट्टी खुट्टाको गेडी भन्दा मुनि ५–६ इन्चको हड्डी फुटेको अस्पतालको प्राविधिक रिपोर्टमा देखिएको छ ।
शल्यक्रिया गरी स्टील राख्नु पर्ने भन्ने जानकारी अस्पतालले जनाएको कुरा निजको श्रीमान् कान्छो सार्कीले जानकारी दिए । उक्त दलित महिलालाई कुटपिट गरेका तामाङलाई २०८१ फागुन ५ गते प्रहरी चौकीमा बोलाई कुनै कारवाही प्रकृया अगाडि नबढाइ सामान्य कागज गरी छाडी दिएको थियो । यस घटनाको बारेमा वडा कार्यालय का जनप्रतिनिधि भने बेवास्ता गरेको पीडित पक्षले गुनासो गरेका छन् ।
निष्पक्ष सत्य तथ्य छानबिन नगरी स्थानिय वडा, जनप्रतिनिधि र स्थानीय प्रहरी चौकी मुकदर्शक बनेको गुनासो पीडित परिवारले गरेको छ । स्थानीय प्रहरीले जाहेरी लिन नमानेपछि पीडित पक्षले शनिबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको थियो । घाइतेको सम्पूर्ण उपचार खर्च कुटपिट गर्ने तामाङले व्यहोर्नु पर्ने मागसहित दोषीमाथि हदैसम्मको कारबाही माग गरिएको छ ।
पीडक तामाङलाई पीडित पक्षको ठाडो निवेदनको आधारमा शुक्रबार नै पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।