विवादित माछा व्यापारी विपिनको दोहोरो नागरिकता भएको खुलासा
तस्करीको भारतीय माछासँग आफूहरुले प्रतिस्पर्धा गर्न नसक्ने मत्स्य व्यवसायी महासंघको भनाइ,राज्य नै तस्करसँग साँठगाँठ गरेर सहजीकरण गर्न खोजेको आरोप
दिपेन्द्र चौहान,
प्रकाशित २०८१ फागुन १२ सोमबार
1.6k
Shares
वीरगञ्ज । विवादास्पद माछा व्यवसायी विपिन साह तुरहा दोहोरो नागरिक भएको खुलेको छ । भारतमा भारतीय नागरिक र नेपालमा नेपाली नागरिक बनेर दुवै देशबाट विपिनले नागरिकलाई प्राप्त हुने सुविधा उपभोग गरिरहेको खुलेको हो ।
विपिन साहले भारत पटनाको संयुक्त महानिर्देशक विदेश व्यापारको कार्यालयबाट आयातक निर्यातक कोड इम्पोर्टर एक्सपोर्टर कोड (आईईसी) नम्बर २११७५०१४७८ बालाजी ट्रेडर्स, मछली बजार रक्सौल पूर्वी चम्पारण बिहार नागा रोडको ठेगाना देखाइ लिएका छन् ।
नेपाली नागरिकले नपाउने यो सुविधा विपिनले भारतमा भारतीय नागरिक विपिन साह बनेर लिएका छन् भने नेपालमा उनको नाममा दर्ता रहेको सुरज फिस सप्लायर्समा प्रोप्राइटरको नाम विपिन साह तुरहा उल्लेख छ।
वीरगञ्ज भन्सार कार्यालय आईसीपी क्लियरिङ एजेण्ट संघका अध्यक्ष राजमान तामाङले नेपाली नागरिकको नाममा इम्पोर्टर एक्सपोर्टर कोड (आईईसी) जारी हुन नसक्ने बताए । विपिन साह तुरहासँग तपाई नेपाली नागरिक भएर कसरी भारतीय आईईसी कोड लिनुभयो भन्ने प्रश्न गर्दा उनले आफ्नो नाममा यस्तो कुनै कोड जारी नभएको प्रतिक्रिया दिएर उम्किने प्रयत्न गरे ।
भारतको आन्ध्र प्रदेशबाट पंगास, रोहु, भकुरा र रूपचन प्रजातिका माछा नेपालमा थोरै भन्सार भएर बाँकी तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको कारणले गर्दा नेपाली माछा व्यवसायीहरु मारमा परेको मत्स्य व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी बताउँछन् ।
विपिनले भारतको आन्ध्र प्रदेशबाट झिकाएको माछा रक्सौलको माछा बजारमा भण्डारण गरी बाराको बरियारपुर, पिपरा बेनौली, छतवा, बसतपुर र बलरामपुर पर्साको भकुवा, अलौ, अमारपट्टी, बुडगाई, सिक्टा र भिस्वा नाका भएर दैनिक हजारौँ टन तस्करीको माछा भित्रिइरहेको छ ।
यस कार्यको लागि रामबाबु तुराहा, श्यामबाबु तुरहा, राहुल तुरहा, उमेश पटेल र जालन्धर तुरहा बोर्डरमा लाइन मिलाउने काममा खटिएको उच्च स्रोत बताउँछ ।
वीरगञ्ज भन्सार कार्यालय आईसीपीबाट विपिनले दैनिक पिकअप र ट्रकमा न्यून राजस्व तिरेर कमसल फर्मालिन हालेको माछा भित्र्याउने गरेको र जाँचकीको मिलोमतोमा आफ्नो एजेण्ट मुस्तफामार्फत प्रत्येक पिकअपमा नियमले ४८ ट्रे माल हुनु पर्नेमा मिलाएर ५६ ट्रे ट्रक भित्र १४५ ट्रे को ठाउँमा ३०० ट्रे माछा नेपाल भित्राउने गरेको बताइन्छ ।
भारतमा माछा पालक कृषकहरूलाई भरपुर सुविधा प्राप्त हुने गरेको उनीहरूको दाँजोमा आफूहरुलाई प्राप्त सुविधा अत्यन्त न्यून रहेकाले भन्सार कार्यालयबाट शुल्क तिरेर आउने माछासँग प्रतिस्पर्धा गर्न अप्ठेरो पर्ने भन्दै तस्करीको माध्यमले आउने माछासँग प्रतिस्पर्धा गर्न नसक्ने मत्स्य व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अधिकारीको भनाइ रहेको छ ।
अध्यक्ष अधिकारीले पशु सेवा विभागले एउटा नमूना जाँचेको भरमा ६ महिनासम्म हजारौं टन माछा आयात गर्न अनुमति दिने प्रावधानले पनि नेपाली कृषक डुबिरहेको भन्दै राज्यका विभिन्न निकाय नै तस्करहरुसँग साँठगाँठ गरेर उनीहरूलाई सहजीकरण गर्न खोज्दा आफूहरू असाध्यै मर्कामा परेको बताए ।
विपिनले पठाएको १४ सय केजी माछा गत माघ २८ गते झापा जिल्लाको सशस्त्र प्रहरीको गण नं २ ले नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।