भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले राष्ट्रिय गौरवको आयोजना ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । विमानस्थल निर्माण तथा उत्तर उन्नतिको काम प्रभावकारी रुपमा भइरहको भन्दै मन्त्री शाहीले कुनै समस्या रहेको भए त्यसलाई समाधान गर्न आफूले पहल गर्ने बताएका छन् ।
भैरहवास्थित विमानस्थलको निरीक्षण गर्दै मन्त्री शाहीले आफ्नो मन्त्रालयको जिम्मेवारीमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि आफूले जस्तो सुकै पहल गरेर भएपनि काम रोक्ने अवस्था आउन नदिने बताए । मन्त्री शाहीले भने ,‘सरकारले गौतमबुद्ध विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर कति महत्त्व दिएको छ भन्ने कुरा भनि राख्नु पर्दैन ।अहिलेसम्मको कामको तीब्रता र प्रकृति हेर्दा सन्तोषजनक काम भइरहेको देखिन्छ । अझ यो गतिलाई द्रुत रूपमा अगाडि बढाउनुस् ।’मन्त्री शाहीले गत मंसिर ३ गते अनुगमन गरेको विषयको स्मरण गर्दै कार्य प्रगति राम्रो रहेको भन्दै खुसी समेत व्यक्त गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रोजेक्ट डाइरेक्टर ओम शर्माले हालसम्म भइरहेको कामका विषयमा मन्त्री शाहीलाई सम्पूर्ण जानकारी गराएका थिए । चिनियाँ कम्पनीले विमानस्थलको काम गरिरहेको जानकारी दिँदै उनले अहिलेसम्म उनिहरूले पनि राम्रो काम गरिरहेका छन् । तोकिएको समयमा काम सम्पन्न गर्न सबै लागि परेको बताए ।
नागरिक उड्डयनमन्त्री शाही प्रविधिसहितको उच्चस्तरीय टोली लिएर भैरहवा हुँदै दाङ गएका हुन् । दाङको तुलसीपुरस्थित विमानस्थल सञ्चालनमा ल्याउने विषयमा अध्ययन र अबलोकन गर्न उच्चस्तरीय टोली दाङ गाएको मन्त्री शाहीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।
पर्यटनमन्त्री शाहीको नेतृत्वमा सिँचाइमन्त्री दीपक गिरी,सांसद राजु खनाल, अनिता देवकोटा, मन्त्रालयका सहसचिव सुरेश आचार्य , नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र प्राविधिक टोली सहित तुल्सीपुर विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि अध्ययन र निरीक्षण गर्न दाङ गएका हुन् ।