बीमाबाट रकम लिन आफ्नै पसलमा आगो लगाउने शर्मा पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
1k
Shares
पोखरा । बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आँफै आगो लगाउने सञ्चालक कास्की प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ घर भइ हाल पोखरा महानगरपालिका वडा नं २७ तालचोक बस्दै आएका २८ वर्षीय रमेश शर्मा लोहार छन् ।
शर्माले पोखराको न्यूरोडमा सञ्चालन गरेको शर्मा आईटी हबमा यही फागुन १६ गते शुक्रबार साँझ करिब ७ बजे आगलागी भएको थियो । शर्माले गत पुसदेखि आईटी हब सञ्चालनमा ल्याएका थिए ।
कास्की प्रहरीका अनुसार फागुन १६ मा आगलागी भएकोमा सञ्चालक शर्माले १७ गते नै ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका थिए ।
साथै शर्माले फागुन १९ मा बीमा रकम दाबीका लागि शिखर इन्स्योरेन्समा निवेदन दिएका थिए । निवेदनमा उनले मोबाइल चार्जमा राखी वासरुम गई फर्किँदा केही पड्किएको आवाज आई आगोलागी भएको उल्लेख गरेका थिए ।
निवेदन उपर अनुसन्धान गर्ने क्रममा उक्त आइटी हव दुई दिनदेखि बन्द रहेको, आगलागी भएको दिन कर्मचारी बिदामा रहेको पाइएको प्रहरीले जनाएको छ । साथै शिखर इन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको बीमा गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट मनुयल्ली र डिजिटली दुवै प्रकारबाट सवुद प्रमाण संकलन, शर्माले तालचोकमा पनि सञ्चालन गरेको पसलको अनुसन्धान र त्यहाँबाट अनुसन्धानलाई सहयोग पुग्ने प्रयाप्त तथ्य संकलन गरेको जनाएको छ ।
प्रहरीका अनुसार शर्माले तालचोकमा पाँच वर्ष अघिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेको र त्यहाँ छ जना कामदारसमेत छन् ।
शर्माले बीमा रकम दाबी गर्ने गलत मनसाय राखेर पसलमा आफैले आगो लगाएको पाइएपछि शर्मा लोहारलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले जानकारी दिए ।
उनलाई सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरामा यस्तै प्रकृतिको घटना गत साउनमा पनि घटेको थियो । साउन १६ गते बिहान पोखरा-६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आँफैले आगो लगाएका थिए । ती सञ्चालन हाल पुर्पक्षका लागि कारागारमा छन् ।