पूर्वराजाको सक्रियतालाई लिएर संसद्मा प्रचण्डले के भने ? [भिडियो]
संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले गणतन्त्र लेखिएको पाइन्छ तर नेपाल त्यसको अपवाद बन्यो, नक्कली भुटानी शरणार्थी गङ्गामा धोइयो, फोहर लोकतन्त्र भयो
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
936
Shares
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले राजावादीहरू सक्रिय हुनुको पछाडि सङ्गठित प्रयास रहेको आशंका समेत व्यक्त गरे । उनले नक्कली भुटानी शरणार्थी गङ्गामा धोएर फोहोर लोकतन्त्र बनेको बताए । उनले प्रतिगमन सफल बन्न नदिइने बताए । उनले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रको इतिहास समेत मौलिक र उदार रहेको बताए । उनले पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिए ।
उनले भने, ‘राजावादीका पछि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आज मात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए । तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ । पछिल्लो आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भनेर बुझ्न अब कठिनाइ छैन । आज म चेतावनीका साथ भन्न चाहन्छु नेपालको शान्ति प्रक्रिया मात्र होइन गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले गणतन्त्र लेखिएको पाइन्छ । तर नेपाल त्यसको अपवाद बन्यो ।’
उनले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाए । दुई तिहाइको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उनको जिकिर छ । वर्तमान सरकार र सत्तारुढ दलहरूले सङ्ख्याको अहङ्कारमा सत्ताको दुरुपयोग गरिरहेको प्रचण्डको आरोप छ । उनले सरकारले प्रतिपक्ष र जनतलाई महत्त्व नदिएकै कारणले जनता सडकमा ओर्लिने अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘यो दुई तिहाइ नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा तपाईँहरूलाई गम्भीर रूपमा सोच्न अनुरोध मात्र गर्न सक्छु अहिले । यो सङ्ख्याको अहङ्कार त छदैछ । त्यो अहँकारकबाट सत्ताको दुरुपयोग शुरु भयो । प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ । र तपाईँहरूलाई लागेको होला हामीसँग दुई तिहाइ छ कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईँले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ । यो सरकारको जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भीर भनाई छ । पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतन्त्रको मूल मर्म विपरीत छ । ’
वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरूले नभई बिचौलियाहरूले चलाइरहेको टिप्पणी गरे । उनले पछिल्लो आठ महिनामा बिचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौती समेत दिए । अध्यक्ष दाहालले वर्तमान सरकारको ड्राइभिङ सिटमै बिचौलिया रहेको आरोप लगाए ।
उनले भने, ‘सरकारको दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले चाहिँ देखेको छैन । त्यो घोडा बिचौलियाहरूले चलाएका छन् । तपाईँहरूले गर्ने नियुक्ति, तपाईँहरूले गर्ने सेटिङ तपाईँहरूले गरेको मैले त देख्दिन ती त बिचौलियाहरूले उनीहरूले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु पछिल्लो आठ महिनामा एउटै नियुक्ति, एउटै, नीति र एउटै निर्णय मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए मात्र हुन्छ । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छ ।’