प्रहरीले यसरी बरामद गर्यो २५ करोड, पक्राउ परेका लामा सुन तस्करीमा संलग्न [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
998
Shares
काठमाडौँ । राजस्व छली गरी विदेशी मुद्राको अवैध ओसारपसार र कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। चैत ४ गते राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना. ७ ख १६५२ नम्बरको मालवाहक ट्रकसहित करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको हो। बरामद मुद्रामा अमेरिकी डलर र युरो रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएका हुन्। विशेष सूचनाको आधारमा रसुवातर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिइएको उनले बताए। ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का कुसाङ लामा (फुच्चे) लाई पक्राउ गरिएको छ।
खानतलासीका क्रममा ट्रकको चालक बस्ने कोठाको माथिल्लो भागमा बनाइएको गोप्य स्थान (फल्स बटम) मा लुकाएर ल्याइएको अमेरिकी डलर र युरो बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममा १ सय दरका ३ हजार ११९ अमेरिकी डलर, ५० दरका १७९ अमेरिकी डलर, ५ सय दरका ११ युरो, २ सय दरका ४८० युरो, १ सय दरका ४ हजार १४८ युरो, ५० दरका १७ हजार १७७ युरो र दुईवटा मोबाइल रहेका छन्।
४३ वर्षीय लामा यसअघि पनि पक्राउ परी जेल चलान भएका व्यक्ति हुन्। उनी राजस्व छली र सुन तस्करी मुद्दामा पाँच वर्ष जेल बसेको खुलेको छ।