प्रम ओलीको आरोप- प्रतिपक्षीहरू आफू बच्न र सरकारलाई बदनाम गर्न लागे [भिडियो]
नीतिहरू कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्ने कुरामा आफ्नो ध्यान रहने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
916
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भए पनि विरोधीहरू सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरे ।
उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकार र अरूलाई बदनाम गर्ने भन्नेमा लागेको बताए । यस्ता कुरामा अलमलिने समय आफूलाई नभएको पनि बताए । देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्ने कुरामा आफ्नो ध्यान रहने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वाभाविक पनि हो । विरोधीहरू लाग्छन् । यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन । कसरी सरकार वा आफू बाहेक अरूलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा उहाँहरु बहुतै सक्रिय देखिनुहुन्छ । त्यस्ता कुरामा म धेरै अलमलिन चाहन्न । हामीले देशको विकास गर्नुपर्नेछ । अनावश्यक कुरामा हामीलाई अलमल्याउन खोज्छन् । अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन्, त्यो हुन हामी तयार छैनौँ । हामी आफ्ना विषयमा, आफ्ना काममा केन्द्रित हुन्छौँ । र आफ्ना देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्ने कुरामा हाम्रो ध्यान छ ।’
प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तीव्र गतिमा अघि बढिरहेको बताए । उनले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने बताए ।