काठमाडौँ । प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्षी दलहरूले संसद अवरोध गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरूले उठेर विरोध जनाएका हुन् । प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् । साथै प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।
२०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्ति पत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।