कुलमान प्रकरणले संसद् ठप्प: बैठक चैत्र १७ गते बस्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
3.3k
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयलाई लिएर प्रतिनिधि सभामा जारी अवरोधका कारण बैठक चैत्र १७ गतेसम्मका लागि स्थगित भएको छ।
संघीय संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरिएको हो। यसअघि हिजो पनि निर्धारित बैठक अवरुद्ध भएपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर, वार्ता र छलफलबाट सहमति जुट्न नसक्दा बैठक १७ गतेसम्मका लागि सरेको हो।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाउने निर्णयबारे संसद्मा जवाफ दिनुपर्ने माग राखेका छन्। तर, प्रधानमन्त्री ओलीले भने सरकारको निर्णयमा संसद्मा जवाफ दिनु अनुचित भएको भन्दै जवाफ दिन अस्वीकार गरेका थिए।
शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको सत्तापक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरुबीचको छलफलमा प्रधानमन्त्री ओलीले १८ गते संसद्मा जवाफ दिने सहमति भएको छ। यसअघि, प्रतिपक्षी दलहरूले प्रधानमन्त्री ओलीले संसदमा जवाफ नदिएसम्म अवरोध जारी राख्ने अडान लिएका थिए।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आजको बैठक प्रतिपक्षी दलहरूको असहयोगका कारण सञ्चालन हुन नसकेको र आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने बताएका छन्।