थाइल्याण्डका उद्योगी व्यवसायीलाई लगानी गर्न प्रधानमन्त्री ओलीको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
711
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणका क्रममा त्यहाँका उद्योगी व्यवसायीहरूसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्डबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको र दुवै देश उपनिवेशबाट मुक्त भई समान रूपमा विकासको पथमा अघि बढिरहेको बताए। उनले थाइल्याण्डले पछिल्लो दशकमा हासिल गरेको प्रविधि, समृद्धि र गरिबी निवारणका अनुभवहरू नेपालका लागि उपयोगी हुन सक्ने बताए।
प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण बनेको र सरकारले लगानी सुरक्षाका लागि कानुनी सुधारहरू गरेको जानकारी गराउँदै थाइल्याण्डका लगानीकर्ताहरूलाई कृषि, प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले थाइल्याण्डका व्यवसायीहरूले नेपालको शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए। उनले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रमा राम्रो सम्बन्ध रहेको र बौद्धमार्गी थाइल्याण्डबाट लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूले पर्यटन लगानीको सम्भावनालाई उजागर गरेको बताए।
थाइल्याण्डका व्यवसायीहरूले नेपालमा कृषि र प्रविधि क्षेत्रमा लगानी गर्न विशेष चासो देखाएका छन्। सरकारले लगानीका लागि अनुकूल वातावरण बनाएकाले थप लगानीकर्ताहरू आकर्षित हुने विश्वास सरकारले लिएको छ।