काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ। यस वार्षिकोत्सवको अवसरमा कुमारी बैङ्क लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकहरूको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ। कुमारी बैङ्क लिमिटेड देशकै अग्रणी बैङ्क बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ।
कुमारी बैङ्कको २४ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो परम्परा र सांस्कृतिक महत्त्व दर्साउन “परम्परागत भेसभुसा” पहिरन गर्न प्रोत्साहित गरेको छ। यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोसाक मार्फत सांस्कृतिक पहिचान तथा संवर्द्धन गर्न मद्दत पुर्याएको विश्वास लिएको छ।
विविध सांस्कृतिक परम्परालाई अङ्गाल्दै, बैङ्कले आफ्नो कार्यक्षेत्रमा “विविधतामा एकता” लाई जोड दिएको छ। यस पहल मार्फत, बैङ्कले “सबैका लागि साधैका लागि” भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक आबद्धताको भावनालाई बढवा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ। यसका साथै वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरूबाट रक्तदान कार्यक्रम आयोजना भएको छ। यसले स्थानीय स्तरमा रक्त बैङ्कका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ।
विगत २४ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।