arrow

कांग्रेसको महाधिवेशन २०८३ सालको मंसिरभित्र हुन्छ : महामन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
gagan-thapa-tanahun1.jpg

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको महाधिवेशन २०८४ साल अगाडि नै हुने बताएका छन् । 

तनहुँको दमौलीमा सोमबार नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँको आयोजनामा भएको “तरुण यात्रा’ पुस्तक विमोचन एवं प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले पार्टीको महाधिवेशन समय मै हुने बताए । 

विभिन्न बहानामा पार्टीको महाधिवेशन धकेल्ने खेल भए पनि कानुनी हिसाबले स्थानीय तहको निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन हुने महामन्त्री थापाले बताए ।

‘संविधान, कानून र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ,’ उनले भने, ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ।’

नेपाली कांग्रेसको अधिवेशन सार्न पाइँदैन, कांग्रेस अर्को पार्टीसंग मिलेर नयाँ पार्टी बनाउन पाइयो तर कांग्रेस पार्टीको अधिवेशन सार्न नपाइने महामन्त्री थापाले बताए ।

‘महाधिवेशन समय मै गर्न सबै नेताले आआफ्नो निर्वाचन क्षेत्रमा गएर क्रियाशील सदस्य रिन्यु गराइदिए पुग्छ’, महामन्त्री थापाले भने, ‘क्रियाशील रिन्युको काम यही चैत मसान्त भित्र पठाउनुपर्नेछ ।’

पार्टीको महाधिवेशन २०८३ सालको मङ्सिर भित्र नै हुने महामन्त्री थापाको भनाइ थियो । 

‘कांग्रेसले अरु पार्टीसंग मिसाएर महाधिवेशन धकेल्छु भन्ने हो भने कांग्रेसको झण्डा र चुनाव चिन्ह लिन पाइन्न’, महामन्त्री थापाले भने, ‘महाधिवेशन समयमै हुनुपर्छ ।’ 

२०८४ सालको वैशाखमा स्थानीय तहको चुनाव हुने भएकाले जति सक्दो चाडो अधिवेशन गर्नुपर्ने महामन्त्री थापाले बताए । उनले भने, ‘अधिवेशनको तुष स्थानीय निर्वाचन नरहोस भन्ने हो ।’  

यतिबेला पार्टी भित्र वृहतर एकता आवश्यकता रहेको महामन्त्री थापाले बताए । 

संघीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।-गोरखापत्र



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ