वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म जान्छ - प्रधानमन्त्री [भिडियो]
निर्वाचनपछि परिस्थिति हेरेर विचार गरौँला
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
447
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरणलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् । मंगलबार मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले नेपाली कांग्रेस-नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार बन्न नदिन धेरै चलखेल भए पनि यो सरकार देशका समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि बनेको जिकिर गरे ।
उनले अस्थिरता र दाउपेचको स्थिति वर्तमान सरकारले अन्त्य गरेको बताए । प्रधानमन्त्री ओलीले सरकार ढलिहाल्छ भन्दै टिप्पणी गर्नेहरू पनि थाकेको बताए । उनले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म अघि बढ्ने र निर्वाचनपछि पनि निर्वाचनको परिणाम हेरेर विचार गर्ने बताए ।
उनले भने, ‘समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि यो समीकरण बनाइएको हो । दिनैपिच्छे सरकार फेरिन्छ की, फेरिन्छ की भनेर जुन खालको अस्थिरताको स्थिति थियो, दाउपेचको स्थिति थियो, त्यसलाई अन्त्य गर्नको लागि यो समीकरण बनाइएको हो । केही मान्छेहरूलाई सौख जस्तो थियो, तिनीहरू पनि थाके अब । यो सरकार बन्नै नदिन कोसिस गरिरहेका थिए, बन्दैन भन्दै थिए, विश्वासको मत प्राप्त गर्दैन भन्दै थिए, झन्डै दुई तिहाइ त नेकपा एमाले र नेपाली कांग्रेससँग मात्रै छ । बहुमतको कुनै कमी छैन । दुई वटा पार्टीले संकल्प गरेका छन् । हामी चुनावसम्म सँगै जान्छौँ । चुनावलाई स्वतन्त्र, निष्पक्ष, धाँदलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउँछौँ । त्यसपछिको परिस्थिति कस्तो बन्छ, विचार गरौँला । अहिले स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि दुई वटा पार्टी मिलेर सरकार बनाएका छौँ । यो सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन ।’