सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
848
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गरे ।
उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गरे ।
“सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ, हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ, तीव्र गतिमा विकास गर्नुपर्छ, हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस्, यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन, यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।”
प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठूला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाए ।
उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गरे ।
कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।