हुम्ला । हुम्ला जिल्ला सिमकोट २ ठेहेकी एक जना गर्भवती बालिकाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गर्भवती भएको २८ हप्ता नपुग्दै आइतबारबाट एक्कासी उच्च रक्तश्राप भएपछि सिमकोट गाउँपालिका– २ ठेहे गाउँकी १६ वर्षकी पुष्पा बोहोरा भण्डारीलाई जिल्लामा उनको उपचार हुन नसक्ने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख डा प्रतिक्षा भारतीले बताइन् ।
आइतबार बिहानबाट एक्कासी उच्च रक्तश्राप भएपछि भण्डारीलाई ठेहे स्वास्थ्य चौकीमा ल्याइएको र उनको अवस्था निक्कै जटिल देखिएपछि त्यहाँ उनको उपचार सम्भव नभएपछि जिल्ला अस्पताल सिमकोटमा रिफर गरेको भए पनि जिल्ला अस्पताल सिमकोटमा पनि उनको उपचार सम्भव नहुने भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला अस्पताल सिमकोटकी सिनियर अनमी सरिता बोहोराले बताइन् ।
उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार भएको हो । हाल उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवती महिलाहरुका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको अनमी बोहोराले बताइन् ।
जिल्ला अस्पतालमा चेकजाँच गर्दा रक्तश्राप मात्र नभएर पेटमा बच्चा ठाडो पुनु पर्नेमा तेर्सो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले उनको उपचार हुम्लामा नहुने भएपछि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख डा भारतीले बताइन् ।
चालु आर्थिक वर्षको साउन महिनायता हुम्लाबाट पुष्पासहित छ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर भारतीले बताइन् ।
पुष्पा बोहोरा भण्डारीको परिस्थिती अत्यन्त संवेदनशील र चिन्ताजनक भएको र २८ हप्ता नपुगेको अवस्थामा यो समस्या आएकाले बच्चार अमाको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको हो ।
बालविवाह नरोकिएको स्पष्ट
नेपालमा विवाहका लागि युवक २१ र युवती २० वर्षको भएकै हुनुपर्छ । तर यहाँ १६ वर्षमै पुष्पा गर्भवती भइन् । यो कसरी ?
स्थानीय प्रशासन एवं विभिन्न संघसंस्थाले पनि पुष्पाको बिहे रोकाउन सकेनन् । उनी सहजै आमा बन्न नसक्नुको पछाडिको मूख्य कारण कम उमेरकै भएर हो ।
सरकार बालविवाहको नारा प्रचारप्रसारमै सीमित भएको छ ।